News Griha :: न्यूजगृह
त्रिशूलीमा बेपत्ता बसको पर्दा भेटियो
चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा आएको लेदोसहितको पहिरोका कारण शुक्रबार बिहान यात्रुसहित त्रिशूलीमा बेपत्ता दुई वटा बस खोजीगर्दा आज भेटिएका कपडा र फर्किदै गरेका सुरक्षाकर्मी ।तस्बिर : रासस

चितवन— नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले बगाउँदा बेपत्ता भएका दुई बस अहिलेसम्म भेटिएका छैनन्।

बेपत्ता भएका बस खोज्ने क्रममा नदीबाट गोताखोरको टोलीले बसमा लगाइएको पर्दा निकालेको छ। हुक लगाएर खोज्ने क्रममा बसमा लगाइएको पर्दा र एउटा ट्राउजर निकालिएको प्रहरीले जनाएको छ।

उक्त पर्दा वीरगञ्जबाट काठमाडौं आउँदै गरेको गाडीको पर्दा भएको बसका मालिकले बताएका छन्।

१२ जना गोताखोरसहित ७० जना सशस्त्र प्रहरी र सैनिक गरी ७४ जना बस र बेपत्ता यात्रुको खोजीमा परिचालन भएका छन्।

सिमलतालमा आज बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले बगाएको थियो।

तीन यात्रु पौडी खेलेर किनारामा निस्किएका थिए। दुई वटा बसमा कति यात्रु थिए अहिलेसम्म यकिन हुन सकेको छैन।

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  २०:५४
Weather Update