
काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनबारे कानुनविद्हरुसँग छलफल गर्ने भएका छन्।
नयाँ सरकार गठनबारे छलफलका लागि राष्ट्रपति पौडेलले शुक्रबार अपरान्ह ५ः४५ बजेका लागि कानुनविद्हरुलाई शीतलनिवास बोलाएका हुन्।
आज प्रधानमन्त्रीको रुपमा पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिन नसकेपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ।
प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै संविधानको धारा ७६(२) वा ७६(३) बमोजिक सरकार बन्ने भन्ने प्रश्न उठेपछि राष्ट्रपति पौडेलले कानुनी परामर्श गर्न चाहेका हुन्।
छलफलका लागि कानुनविद्हरु विपिन अधिकारी, भीर्माजुन आचार्य, शम्भु थापा, हरिहर दाहाल लगायतलाई आमन्त्रण गरेका हुन्।
यता असार १७ गते एमाले र कांग्रेसले नयाँ समीकरण अनुसार अघि बढ्ने सहमति गरेका छन्। कांग्रेस–एमालेको सहमति अनुसार पहिलो कार्यकालका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ।
संविधानको धारा ७६(२) को सरकार ढलेपछि पुनः सोही धारा अनुसार ओली प्रधानमन्त्री बन्न लागेका हुन्। तर ७२(२) को सरकार ढलेपछि सोही धाराबाट पुनः सरकार बन्न नसक्ने दाबी केही कानुनविद्हरुको रहेको छ।