
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढलेको छ।
शुक्रबार प्रधानमन्त्री प्रचण्डले संसद्बाट विश्वासको मत प्राप्त गर्न नसकेसँगै उनी नेतृत्वको सरकार ढलेको हो।
आज प्रधानमन्त्रीले संविधानको धारा १०० को उपधारा २ बमोजिम राखेको विश्वासको मतको पक्षमा जम्मा ६३ मत मात्रै परेको छ। त्यस्तै उनको विपक्षमा १९४ मत परेको छ। त्यस्तै एकजना सांसद् तटस्थ बसेका छन्। प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत आवश्यक पर्दछ।
कुल २७५ सदस्यीय प्रतिनिधिसभाको आज बैठकमा २५८ सांसदको मात्रै उपस्थिती रहेको थियो।
यसअघि प्रधानमन्त्रीको रुपमा प्रचण्डले ४ पटक विश्वासको मत प्राप्त गरेका थिए। गत निर्वाचनपछि प्रचण्ड तेस्रो कार्यकालका लागि २०७९ साल पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ।
गत असार १७ गते कांग्रेस–एमालेबीच नयाँ सत्ता समीकरण अनुसार अघि बढ्ने निर्णय गरेका छन्। एमाले–कांग्रेसको सहमति अनुसार पहिलो कार्यकालमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नेछन्।