News Griha :: न्यूजगृह
प्रचण्डलाई एसको सुझावः चार महिनामा फेरि समीकरण फेरिन्छ, देउवासँग सम्बन्ध सन्तुलनमा राख्नुस्

काठमाडौं— नेकपा एकीकृत समाजवादीले आगामी ४ महिनामा नै सरकारको अर्को समीकरण बन्ने दाबी गरेको छ। 

आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा आफ्नो धारणा राख्दै एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणी चौधरीले त्यस्तो दाबी  गरेका हुन्। 

छलफलमा भाग लिँदै उनले कांग्रेस वर्तमान प्रधानमन्त्री प्रचण्डलाई कांग्रेस सभापति शेरबहादुर देउवासँग सन्तुलनको सम्बन्ध कायम राख्न आग्रह गरे। अब बन्ने एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको स्थायित्व नभएको भन्दै उनले अबको चार महिनामा पुनः परिस्थिति फेरिने र पुनः कांग्रेस–माओवादीको मिलान हुने दाबी गरे। 

‘आज परिस्थिती जस्तो भए पनि नेपाली कांग्रेसका सभापतिलाई तपाईं कति पनि दोषी नदेख्नुहोला। उहाँसँगको सम्बन्धलाई सन्तुलनमा राख्नुहोला ४ महिनामै परिस्थिती तपाईंकै अनुकुल हुन्छ। आज मिति गनेर राखैँ चार महिनामा परिस्थिती तपाईंकै अनुकुल हुन्छ। त्यसैले सबैसँग बराबरमा सन्तुलनमा रहेर व्यवहार गर्नुहोला,’ उनले भने। 

त्यस्तै दुई ठूला दल मिलेपछि संविधान मिचिन सक्ने भन्दै संसद्को अस्थिरताका लागि साक्षी नबस्न समेत कांग्रेस सभापति देउवालाई आग्रह गरे। 

‘संसद् विघटन हुने गरी त्यसको साक्षी नबस्नुहोस्। अबको चार महिनामा आजका प्रधानमन्त्रीको जस्तो हालतमा हुनुहुनेछ,’ उनले भने।  

 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १५:५३
Weather Update