News Griha :: न्यूजगृह
प्रधानमन्त्रीलाई कांग्रेसको जवाफः संविधान संशोधन पश्चगमन होइन, अग्रगमन हो

काठमाडौं— नेपाली कांग्रेसले संविधान संशोधन हुनु पश्चगामी कदम नभएको स्पष्ट पारेको छ। 

आज बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेसका तर्फबाट बोल्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सो कुरा बताएका हुन्। 

त्यसअघि बोलेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस–एमाले मिलेर संविधान संशोधन गरी मुलुकलाई पश्चगमनको गतिमा जान लागेको आरोप लगाएका थिए। 

त्यसमा जवाफ फर्काउँदै उनले संविधान संशोधन गरेर समावेशिता समाप्त गरिन्छ, लोकतन्त्र समाप्त गरिन्छ भन्ने  भाष्य निर्माण गरिएको भन्दै सो कुरा बताए।  

‘संविधान संशोधन गरेर सभावेशिता समाप्त गरिन्छ, लोकतन्त्र समाप्त गरिन्छ भन्ने भाष्य निर्माण गरिएको छ। म साथीहरुलाई आग्रह गर्न चाहन्छु,’ उनले भने, ‘संविधान संशोधनको विषय उठाउनु, त्यसमा छलफल गर्नु पश्चगमन होइन। यो अग्रगमन हो।’ 

त्यस्तै संविधानको धारा २६५ अनुसार नै संविधान संशोधन हुनसक्ने प्रावधान रहेको स्पष्ट पारे। साथै संविधान पूजाकोठामा राखेर पूजा गर्ने पुस्तक नरहेको भन्दै समयानुकुल परिमार्जन हुन सक्ने बताए।  

‘संविधानलाई जडवस्तु बनाएर पूजा कोठामा पाठ गर्नका लागि बनाइएको होइन,’ उनले भने।

त्यस्तै नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री बन्ने बताए। 

साथै यसअघि नै पार्टी बैठकको निर्णय अनुसार प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने सदनलाई जानकारी गराए।  
 
अहिले प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतको प्रस्तावमा छलफल जारी रहेको छ। 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १३:५५
Weather Update