News Griha :: न्यूजगृह
बस दुर्घटनाप्रति कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नारायणगढ–मुग्लिन सडकको सिमलतालको पहिरोमा दुईवटा यात्रीवाहक बस परेका खबरले आफू मर्माहत भएको बताएका छन्। 

सभापति देउवाले आज विज्ञप्ति निकालेर त्रिशूली नदीमा आज बिहान दुवै बस खस्दा करिब ६५ जना यात्रीको अवस्था अज्ञात रहेको घटनाप्रति दुःख व्यक्त गरेका हुन्। 

अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरो र डुबानमा परी भएको जनधनको क्षति भएकोप्रति पूर्वप्रधानमन्त्री देउवाले गहिरो दुःख व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराएका छन्। उनले युद्धस्तरमा उद्धार, हराएकाहरूको खोजी, नागरिकलाई सुरक्षितस्थलतर्फ स्थानान्तरण, घाइतेको उपचार र राहतका  कार्यमा सक्रियता साथ लाग्न आग्रह गरेका छन्।

बाढीपहिरोको जोखिम बढ्नसक्ने अवस्थालाई दृष्टिगत गरेर देशभर सबैलाई सजग भएर त्यसको सामना गर्न आग्रह गर्दै तीनवटै तहका सरकारलाई समन्वय र व्यवस्थित योजना साथ आवश्यक सम्पूर्ण तयारीको कार्य गर्न सभापति देउवाले अनुरोध पनि गरेका छन्। 

त्यस्तै स्थानीय पार्टीपङ्क्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन निर्देशन दिँदै सभापति देउवाले पार्टीका साथीहरूलाई व्यवस्थित ढङ्गले प्रभावकारी रूपमा काम गर्न आग्रह गरे। 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १२:३२
Weather Update