News Griha :: न्यूजगृह
सरकारले गरेको कामको डर र भयले कांग्रेस–एमालेलाई जोड्योः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले–कांग्रेसले सरकारले गरेको कामको डरले नयाँ सहमति बनाएको टिप्पणी गरेका छन्। 

शुक्रबार संसद्बाट विश्वासको मत लिने क्रममा संसद्लाई सम्बोधन गर्दैै उनले सो कुरा बताएका हुन्। 

उनले आफू नेतृत्वको सरकारले सुशासनको काम गरिरहेको कुराबाट डराएर र माओवादीले अबको दिनमा राम्रो काम गर्ने भयले दुई दलको मिलान भएको दाबी गरे। 

‘अब सुशासनमा देश जानलाग्यो भन्ने डरले तपाईंहरुलाई जोडेको हो। जनताको लागि तपाईंहरुको सहमतिले जोडेको होइन,’ प्रधानमन्त्री प्रचण्डले भने।

त्यस्तै नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाउन लागेको भन्दा पनि संविधानमाथि छेडछाड गर्न लागेको समेत आरोप लागे। 

‘यहाँ नेपाली कांग्रेस र नेकपा एमालेले मिलेर सरकार मात्रै बनाउँदै छैन। संविधानमाथि छेडछाड गर्नुभएको छ,’ उनले भने। 

त्यस्तै आफूलाई यो अवस्था अहिले नै आउने पूर्वानुमान रहेको भन्दै आफूले विश्वासको मत पाए पनि नपाए पनि कुनै चिन्तित नभएको बताए। 

‘सम्मानित सदनबाट मैले विश्वासको मत पाउँला वा नपाउँला म विल्कुल चिन्तित छैन,’ उनले भने।  

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १२:१८
Weather Update