
काठमाडौं— सांसदहरूले देशको विभिन्न स्थानमा बाढी पहिरोका कारण भएका घटनाबारे सरकारको ध्यानाकर्षण गराएको छन्।
शुक्रबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा धारणा राख्ने सबैजसो सांसदहरूले बाढी तथा पहिरोले पुर्याएको मानवीय तथा भौतिक क्षतिबारे ध्यानाकर्षण गराएका हुन्।
निरन्तरको वर्षपछि बिहीबार राति कास्कीमा पहिरोले घर पुर्दा ११ जनाको मृत्यु भएको छ।
यस्तै, नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा दुई वटा यात्रुबाहक बस त्रिशूलीमा बेपत्ता छन्। शुक्रबार बिहान वीरगञ्जबाट काठमाडौं आउँदै गरेको गाडी र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बस नदीमा खसेका छन्। दुवै बसमा ६५ जना सवार रहेको प्रारम्भिक अनुमान छ।
चितवन भरतपुर–२९ स्थित १७ किलोमा लेदोसहितको ढुङ्गा लागेर एक बस चालकको मृत्यु भएको छ। बाढी पहिरोकै कारण देशका विभिन्न राजमार्गहरू पनि अवरुद्ध छन्।
यी समग्र मनसुनी वर्षाले उत्पन्न गराएको घटनाबारे सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका हुन्।