बक्यौता नतिरेको भन्दै विद्युत प्राधिकरणले काट्यो जगदम्बा स्टिलको बिजुली, १ अर्ब ६० करोड रुपैयाँ तिर्न बाँकी

काठमाडौं— नेपाल विद्युत प्राधिकरणले बाराको सिमरामा रहेको जगदम्बा स्टिलको बिजुलीको लाइन काटिदिएको छ। डेडिकेटेड लाइनको बक्यौता रकम र जरिवाना नतिरेको भन्दै प्राधिकरणले गएराति नौ बजे लाइन काटिदिएको हो।
जगदम्बाले डेडिकेटेड लाइनको २५ प्रतिशत जरिवानासहित १ अर्ब ६० करोड रुपैयाँ नबुझाएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। यससँगै विद्युत् प्राधिकरणले लाइन काटिदिएका उद्योगहरूको सङ्ख्या ६ पुगेको छ।
यसअघि प्राधिकरणले रिलायन्स स्पिनिङ, अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट लगायतका उद्योगका लाइन काटेको थियो।
२०७२ साल माघ महिनादेखि २०७५ साल वैशाख सम्म लोडसेडिङ कायम रहेको अवधिको प्रिमियम महसुल नतिरेका उद्योगहरूको लाइन काटिएको प्राधिकरणले जनाएको छ।
लाइन काट्ने प्राधिकरणको कदमको उद्योगी व्यवसायीहरूले भने विरोध जनाउँदै आएका छन्।
प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१ १०:५३













