अपडेट
त्रिशूली नदीमा खसेका दुई वटा बसको खोजी कार्य जारी

काठमाडौं— पहिरोले त्रिशूली नदीमा खसेका दुईवटा बसको खोजी कार्य जारी रहेको छ।

प्रहरीका अनुसार आज बिहान ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं. २९ सिमलतालमा पहिरोमा परि दुई यात्रुबाहक बस त्रिशूली नदीमा खसेका थिए।

त्रिशूलीमा खसेका बसमा वीरगञ्जबाट काठमाडौं आउँदै गरेको र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बस रहेको प्रहरीले जनाएको छ।

वीरगञ्जबाट आएको बसमा २४ जना र अर्कोमा ४१ जना यात्रु गरी ६५ जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

अहिले उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट ३५ जना र विपद व्यवस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोरसहित २० जना परिचालन भएका छन्।

अहिले यात्रुको अवस्था अज्ञात रहेको र त्रिशूली नदीमा बसको खोजी कार्य तीब्र पारिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१ ०९:३०













