नापी कार्यालय लगनखेलका सर्वेक्षक चार लाख घुससहित पक्राउ

काठमाडौं— ललितपुरस्थित नापी कार्यालय लगनखेलमा कार्यरत सर्वेक्षक सञ्जीवकुमार यादवसहित दुईजनालाई घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यादवसहित आरबी लेखापढी सेन्टरका सञ्चालक रामबाबु भुजेललाई बिहीबार पक्राउ गरेको हो। उनीहरूलाई चार लाख रुपैयाँसहित नियन्त्रणमा लिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए।
जग्गा हालसाबिक गरी पुर्जा उपलब्ध गराइदिन उनीहरूले सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदन परेको थियो। उनीहरूलाई घुस रकमसहित ललितपुर महानगरपालिका–१२ लगनखेलमा रहेको आरबी सेन्टरबाट नियन्त्रणमा लिएको हो।
प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१ ०९:२१













