-1718871003.jpg)
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार प्रतिनिधिसभामा आफूलाई विश्वासको मत दिन आग्रह गर्दै सम्बोधन गर्ने तयारी गरेका छन्।
प्रचण्डले संसद्मा ‘संविधान पक्षधर पार्टीहरू एकजुट हुन आग्रह गर्ने’ माओवादी मुख्य सचेतक हितराज पाण्डेले बताए। ‘हामी संविधान निर्माण, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक प्रणालीका लागि लडेको हौँ,’ उनले भने, ‘प्रधानमन्त्रीज्यूले संविधान पक्षधर सबै पक्षलाई एकताका लागि आग्रह गर्नुहुनेछ।’
कांग्रेस एमालेले ‘राजनीतिक स्थायित्वका लागि संविधान संशोधनमा समझदारी’ लाई गोप्य राख्नु रहस्यमय भएको बताए। ‘संविधान संशोधनमा समझदारी गरी सङ्घीय गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी प्रणालीबाट पछि हट्न खोजेको देखिन्छ’ उनले भने, ‘हामी संविधान रक्षाका लागि सबैलाई अपिल गर्छौ।’
प्रचण्डले संसद्बाट विश्वासको मत लिन लिनुको पछाडि सरकारमा निर्माणमा संविधानको धारा ७६ को उपधारा ३ मा लग्ने दाउ रहेको कांग्रेस एमालेका नेताहरूले आरोप लगाउने गरेका छन्। प्रचण्डले बिहीबार माओवादी संसदीय दलका बैठकमा धारा ७६ को उपधारा २ कि ३ मा जाने भन्ने विषय राष्ट्रपति रामचन्द्र पौडेलको विवेकमा भर पर्ने बताएका थिए। धारा ७६ को उपधारा ३ मा ठूलो दलको हैसियतले सरकारको दाबी गर्ने प्रावधान छ।
२०७९ को आम निर्वाचनपछि तीन गठबन्धनको प्रधानमन्त्री भएका प्रचण्डले डेढ वर्ष सरकारको नेतृत्व गर्ने मौका पाए। निर्वाचन परिणाम आएपछि चुनावमा कांग्रेससँग गठबन्धन त्यसपछि एमाले, राष्ट्रपति कसलाई बनाउने सम्बन्धमा कुरा नमिलेपछी फेरि कांग्रेस, सरकार संचालनमा कांग्रेससँग विवाद भएपछि गत फागुनमा एमालेसँग सत्ता समीकरण बनाएका थिए।
असार १७ मा कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनेपछि प्रचण्ड सरकार अल्पमतमा परेको छ। संसदीय दलको बैठकमा सहभागी माओवादी सांसद प्रधानमन्त्री प्रचण्डले सङ्घर्षमा जाने सङ्केत गरेको बताए।
‘हामी दायाँबायाँ नगरी मतदानमा जाने नै हो। संसद्मा मतदानमा जाने सङ्घर्षको आधार तयार पार्ने हो’ दाहालको भनाइ थियो, ‘दृढतापूर्वक अघि बढ्ने हो। संविधानको रक्षा परिवर्तनको पक्षधरलाई विश्वासको मत दिन अपिल गर्ने हो।’
प्रचण्डले संसदबाट आफूले विश्वासको मत फेल भइसकेपछि सङ्घर्षका लागि तयारीमा रहन सांसदहरूलाई निर्देशन दिए।