काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा आफूले प्रतिनिधिसभा बैठकमा शुक्रबार विश्वासको मत लिने औपचारिक रुपमा जानकारी दिएका छन्।
माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीका मन्त्रीहरूलाई उनले शुक्रबार संसद्मा संवैधानिक प्रावधान अनुसार ‘फ्लोर टेस्ट’ गर्न लागेको उल्लेख गर्दै हालसम्म सरकारमा रहेका दलहरूले एकजुट हुनुपर्ने बताए।
‘भोलि शुक्रबार मैले संसद्मा विश्वासको मत लिने कार्यक्रम छ। सरकारमा भएका दलहरू एकजुट भएर सामना गर्नुपर्ने हुन्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै सरकार प्रवक्ता रेखा शर्माले भनिन्, ‘संविधानको व्यवस्था अनुसार प्रधानमन्त्रीज्यूले विश्वासको मत लिन खोज्नु भएको हो।’
प्रधानमन्त्री प्रचण्डले संसद्बाट आउने परिणामका आधारमा अघि बढ्ने बताए। ‘प्रतिनिधिसभाबाट विश्वासको मत लिने बेला जे परिणाम आउँछ, त्यसलाई सामना गरेर अघि जाने कुरा हुन्छ,’ प्रचण्डले भनेका थिए।
एमाले, जनता समाजवादीका मन्त्रीले राजीनामा दिएपछि प्रधानमन्त्री प्रचण्डले भौतिक पूर्वाधार तथा यातायात, कानुन, न्याय तथा संसदीय मामिला, कृषि तथा पशुपक्षी विकास, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, उद्योग, वाणिज्य तथा आपूर्ति, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, खानेपानी, रक्षा, वन तथा वातावरण, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सम्हाल्दै आएका छन्।
हाल माओवादी, रास्वपा र एकीकृत समाजवादीसहित १२ सदस्यीय मन्त्रिपरिषद् छ। कांग्रेस एमालेको गठबन्धन बनेपछि प्रतिनिधिसभाको अङ्क गणितको आधारमा सरकार अल्पमतमा परिसकेको छ।