काठमाडौं— तालिबान सत्तामा फर्किएपछि पश्चिमी मुलुकमा स्थानान्तरणका लागि स्वीकृत भएका कम्तीमा ४४ हजार अफगानी अझै पनि पाकिस्तानमा अलपत्र अवस्थामा रहेको पाइएको छ।
सन् २०२१ को अगष्टमा नेटो समर्थित सरकार ढलेपछि काबुलबाट एक लाख २० हजारभन्दा बढी मानिसलाई उद्धार गरिएको थियो।
त्यसयता तालिबानको शासन कालमा लाखौं अफगानी भागेका छन् र धेरैले आफ्नो देशमा २० वर्षसम्मको लामो विदेशी हस्तक्षेपमा संलग्न राष्ट्रहरूमा शरणका लागि आश्वासन पाएका र यस अवसरको पर्खाइमा रहेका छन्।
पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता मुमताज जाहरा बलोचले तालिबानले सत्ता सञ्चालन गरेको तीन वर्षमा २५ हजार अफगानीलाई अमेरिकामा स्थानान्तरणका लागि अनुमति दिइएको बताए।
पाकिस्तानमा रहेका थप नौ हजार अफगानीलाई अष्ट्रेलियाले स्वीकार गरेको छ भने क्यानडाले छ हजार, जर्मनीले तीन हजार र बेलायतले एक हजारभन्दा बढीलाई स्वीकारेका छन्।
‘हामीले उनीहरूलाई यी देशहरूका लागि स्वीकृति र भिसा जारी गर्ने प्रक्रियालाई छिटोभन्दा छिटो गर्न आग्रह गरेका छौं, ताकि उनीहरूलाई जतिसक्दो चाँडो स्थानान्तरण गर्न सकियोस्,’ बलोचले सञ्चारमाध्यमसँग नियमित रूपमा हुने गरेको साप्ताहिक भेटघाटमा भने।
काबुलमा पूरानो सत्ताको पतनपछि अधिकांश देशहरूले आफ्ना अफगान दूतावासहरू बन्द गरेका अफगान आप्रवासीहरूलाई पाकिस्तानमा अस्थायी रूपमा बस्ने व्यवस्था गरी उनीहरूको लागि इस्लामाबादस्थित दूतावासहरूले सेवा प्रदान गर्ने बताएका छन्।
स्थानान्तरणको आश्वासन पाएका धेरै अफगानीहरू विदेशी समर्थित सरकारमा सामेल थिए र उनीहरू तालिबान अधिकारीहरूको प्रतिशोधको डरमा छन्।
मङ्गलबार पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त फिलिप्पो ग्रान्डीलाई स्थानान्तरणको पर्खाइमा रहेका अफगानीहरूको स्थानान्तरणका लागि दबाब दिएका थिए।
सरिफले ग्रान्डीसँग भनेका थिए, ‘अन्तर्राष्ट्रिय समुदायले यति ठूलो सङ्ख्यामा शरणार्थीलाई स्वागत गर्दा पाकिस्तानले बोक्नुपरेको बोझलाई बुझ्नुपर्छ र सामूहिक जिम्मेवारी प्रदर्शन गर्नुपर्छ।’
तालिबानले आफ्नो नियन्त्रणमा लिएपछि र इस्लामको कठोर संस्करण लागू गरेयता करिब छ लाख अफगानी पाकिस्तान पुगेका छन्।
सोभियत आक्रमण, गृहयुद्ध र ९–११ पछिको अमेरिकी नेतृत्वमा भएको कब्जालगायतका पछिल्ला द्वन्द्वबाट भागेर त्यसभन्दा अघिका चार दशकमा लाखौं मानिसहरू पाकिस्तान आएका थिए।
तर, गत वर्षदेखि काबुलसँगको सम्बन्ध सुरक्षाको विषयलाई लिएर तिक्तता आएपछि इस्लामाबादले ठूलो सङ्ख्यामा कागजातविहीन अफगानीलाई देश निकाला गर्ने अभियान चलाएको छ।
पक्राउ पर्ने डरले पाँच लाखभन्दा बढी मानिस जोखिम मोलेरै भएपनि अफगानिस्तान फिर्ता भएका छन्।
दर्ता भएका अफगानी शरणार्थीको अर्को एक वर्ष बस्न पाउने अधिकारको विस्तार गर्ने तर कागजपत्र नभएका शरणार्थीलाई स्वदेश फर्काउने प्रयास जारी राख्ने इस्लामाबादले बुधबार बताएको छ।