News Griha :: न्यूजगृह
अब सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र नचाहिने 

काठमाडौं— सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयबाट सरकार पछि हटेको छ। 

आज बसेको मन्त्रिपरिषद् बैठकले यसअघि गरिएको निर्णय पुनरावलोकन गर्दै सामाजिक सुरक्षाभत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय कार्यान्वयन नगर्ने निर्णय गरेको हो। 

बैठकपछि निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं सूचना प्रविधिमन्त्री रेखा शर्माले त्यसबारे गृहमन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको जानकारी दिइन्। 

‘सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचय पत्र लागु गर्ने निर्णय भएकोमा मुलुकको विभिन्न स्थानमा भएको बाढी र पहिरोका कारण सामाजिक सुरक्षा भत्ता  प्राप्त गर्ने नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन असहज हुने भएकाले तत्कालका लागि लागु नगर्ने गरी पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय भयो‚’ उनले  भनिन्।

यसअघि सामाजिक सुरक्षा भत्ता लिनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि लक्षित वर्ग समस्यामा परेको भन्दै सरकारको आलोचना गइरहेको छ।

त्यस्तै आज बसेको बैठकले सत्यनिरुपण तथा मेलमिलाप आयोगको कार्यकाल थप एक वर्ष थप्ने निर्णय गरेको समेत बताइन्। 

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १८:३५
Weather Update