
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित कुनै पनि मन्त्रीहरु उपस्थित नभएपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ।
आज अपरान्ह ४ बजेका लागि बैठक बोलाइएको थियो। तर एक घण्टा भन्दा बढी ढिला गरी सुरु भएको बैठकमा प्रधानमन्त्रीसहित कुनै पनि मन्त्री उपस्थित भएनन्।
बैठकको प्रारम्भमै कांग्रेस सांसद रामहरि खतिवडाले प्रधानमन्त्रीसहित कुनै पनि मन्त्री उपस्थित भएको भन्दै सभामुखको ध्यानाकर्र्षण गराएका थिए।
त्यसपछि सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली अनुसार संसद् बैठकमा मन्त्रीहरुको अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था रहेको जानकारी गराए। तर कुनै पनि मन्त्रीहरु उपस्थित नभएको भन्दै भोलिसम्मका लागि बैठक स्थगित भएको जानकारी सभालाई गराएका हुन्।
बैठक भोलि बिहान ११ बजे बस्दैछ। भोलिको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यसूची रहेको छ।