
काठमाडौं— गत असार १७ गते राति संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो एमालेबीच नयाँ सत्ता समीकरण बनाएर अघि बढ्ने सहमति भयो।
संविधान संशोधन समेतका विषयलाई लिएर सहमति भएको बताइन्छ। तर एमाले–कांग्रेसका शीर्ष नेताहरुले भने अहिले नै संविधान संशोधन गरेर अघि बढ्ने गरी सहमति नभएको स्पष्टीकरण दिइरहेका छन्। तर अन्य विषयमा भएको भनिएको सहमति भने अझै सार्वजनिक हुन सकेको छैन।
चर्चामा रहेको उक्त सहमतिमा के छ भन्ने कुरामा चौतर्फी चर्चा भइरहेको छ। तर दुवै दलले त्यसलाई नयाँ सरकार बन्ने चरणमा नगइकन औपचारिक रुपमा सार्वजनिक नगर्ने सहमति भएको कांग्रेस महामन्त्री गगनकुमार थापाले बताए।
उनले बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै आफ्नो दलले कार्यसम्पदान समिति बैठकमा सांसदहरुलाई त्यसको विषयमा जानकारी गराएको बताए। तर दुवै दलबीच त्यसलाई तत्काल सार्वजनिक नगर्ने सहमति बनेको उनले बताए।
‘प्रारम्भबाटै यसलाई हल्का विषय नबनाउने, जहिल्यै समझदारी गर्ने तर त्यसलाई पालना नगर्ने नगरौँ त्यसका निम्ति प्रत्येक कुरालाई सल्लाहबाट मात्र गरौँ भन्ने समझदारी भएको छ। दुवै दलको समितिका साथीहरुलाई यो कुराको जानकारी गराइयो। यसलाई सार्वजनिक गर्ने कुराचाँही जब यो कार्यान्वयनमा जान्छ, अर्थात् २८ गते भोलि प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रियाको चरण सकिएपछि जब हामी नयाँ सरकारको चरणमा जान्छौँ त्यो बेलामा मात्रै यसलाई औपचारिक रुपमा सार्वजनिक गरौँ भन्ने हाम्रो समझदारी भएकोले अहिले सार्वजनिक नगरिएको हो,’ उनले भने।
त्यस्तै त्यसमा लुकाउन पर्ने पक्ष केही पनि नभएको भन्दै दुवै पक्ष पटकपटक सम्झौता गर्ने र कार्यान्वयन नगर्ने कुरामा सचेत रहेको उनले बताए।
यसअघि सहमति भइ भंग भएको विषयलाई स्मरण गर्दै अहिलेको सहमति चाँही भंग भएमा पनि पार्टीले त्यसको जिम्मा लिनेगरी अघि बढ्ने स्पष्ट पारे।
त्यस्तै संविधान संशोधन कांग्रेस र एमालेले चाहेर मात्रै हुने कुरा नभएको उनले स्पष्ट पारे। त्यस्तै आफूहरु संविधानमा भएका कन्फ्यूजनहरु हटाएर अघि बढ्नुपर्नेमा जोड दिए।