News Griha :: न्यूजगृह

काठमाडौं— उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि अभद्र व्यवहार प्रदर्शन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको बताएका छन् । 

बुधबारको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री श्रेष्ठले झापाको बुधबारेमा एमाले अध्यक्ष ओली सहभागी कार्यक्रममा कोशी प्रदेश नामाकरणमा विरोध गर्नेहरूले ढुंगामुढा गरेका बताए । 

उनले सो घटना हुनु दुखद् भएको भन्दै सरकारको तर्फबाट निन्दा गरेको बताए । उनले प्रहरीले ढुंगामुढा गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको पनि जानकारी दिए । ‘प्रहरीले एकजना ढुंगामुढा प्रहारमा संलग्न व्यक्तिलाई, त्यस रूपमा प्रस्तुत हुने व्यक्तिलाई अहिले नियन्त्रणमा लिएको छ,’ उनले भने, ‘दुईजना प्रहरी यस क्रममा घाइते भएका छन् । यस रूपमा पछाडि प्रहरीले आफ्नो भूमिका सकारात्मक रूपमा अगाडि बढाएपछि केपी शर्मा ओलीजीको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । त्यसपछि उहाँ इलामतर्फ प्रस्थान गर्नुभएको छ ।’

गृहमन्त्री श्रेष्ठले ‘अराजक गतिविधि गर्नेहरूलाई सरकारले छुट दिन नसक्ने पनि स्पष्ट पारे । 

यस्तै, गृहमन्त्री श्रेष्ठले कपनमा भएको महिला हत्याको सम्बन्धमा पनि प्रहरीले अनुसन्धान जारी राखेको बताए । उनले केही दिन भित्रैमा प्रहरीले सत्यतथ्य पत्ता लगाउने र दोषीलाई कानुनको कठघरामा ल्याउने विश्वास व्यक्त गरे । उनले मिटरब्याजी पीडितहरूलाई न्याय दिने र पीडकलाई कानुनी कठघरामा ल्याउनेगरी सरकारले नीति, निर्णय, कदम र प्रक्रिया अगाडि बढाएको बताए । 

गृहमन्त्री श्रेष्ठले नागरिकता विधेयकमा सबै राजनीतिक दलहरूबीच सहमति खोज्ने कोसिस भइरहेको बताए । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  १८:०५
Weather Update