News Griha :: न्यूजगृह
जसपाको निर्णयः प्रधानमन्त्रीलाई विश्वासको मत नदिने, कांग्रेस–एमालेसँग सहकार्य गर्ने

काठमाडौं— अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ। 

आज बसेको जसपा संसदीय दलको बैठकले सो निर्णय गरेको जसपा संसदीय दलका प्रमुख सचेतक डा. विरेन्द्रप्रसाद महतोले जानकारी दिए। 

‘जनता समाजवादी पार्टीको संसदीय दलको बैठक मिति २०८१/०३/२७ गते दलको कार्यालय सिंहदरबारबमा बसी नेपाल सरकारको तर्फबाट सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बाट मिति २०८१/०३/२८ गते शुक्रबारका दिन नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तुत प्रस्तावको विपक्षमा मतदान गर्न निर्णय गरिएको ब्यहोरा अनुरोध छ,’ जारी विज्ञप्तिमा भनिएको छ। 

जसपामा हाल ७ सुांसद रहेका छन्। केही समय अघि उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी नेपालबाट फुटेर राईको नेतृत्वमा नयाँ दलका बनेको हो।  

त्यस्तै आजको बैठकमा अब बन्ने कांग्रेस–एमाले नेतृत्वको नयाँ सरकारलाई समर्थन गरेर अघि बढ्ने निर्णय समेत भएको जसपा सांसद प्रदीप यादवले जानकारी दिए।

‘नयाँ नेकपा एमाले र नेपाली कांग्रेस लगायतका दलको सहमतिमा नयाँ बन्ने राष्ट्रिय सहमतिको सरकारको निर्माणमा सहयोग र सहकार्य गर्ने निर्णय गरिएको छ,’ उनले सामाजिक सञ्जालमा भनेका छन्। 

त्यसो त यसअघि जसपाले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिए सरकारबाट समेत बाहिरिएको थियो। एमाले लगायतका दलहरुले समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री प्रचण्डले शुक्रबार विश्वासको मत लिन लागेका हुन्। 

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १४:२२
Weather Update