मोरङमा कुखुरा फर्मभित्र हत्या गरिएको अवस्थामा सञ्चालकको शव फेला, कामदार फरार

काठमाडौं— मोरङमा एक व्यक्तिको हत्या भएको अवस्थामा कुखुरा फर्मभित्र शव फेला परेको छ।
बिहीबार बिहान साढे १० बजेको समयमा सुन्दरहरैँचा नगरपालिका–९ का ४९ वर्षीय सहदेव बजगाईंको शव फेला परेको हो।
उनले आफ्नो घर नजिकै त्यहाँ कुखुरा फर्म सञ्चालन गर्दै आएका थिए। प्रहरीका अनुसार उनको टाउको क्षतविक्षत अवस्थामा फेला परेको छ भने शरिरका अन्य भागमा समेत चोटपटक देखिएको छ।
सो फर्ममा काम गर्न बजगाईंले श्रीमान–श्रीमती राखेका थिए। घटनापछि उनीहरु फरार रहेका कारण उनीहरुले नै उनको हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
घटनास्थलमा बन्चरो र दाउरा भेटिएको छ। जसमा रगत समेत लतपतिएका कारण सोही बन्चरो र दाउरो प्रहार गरेर उनको हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ।
अहिले मोरङ प्रहरीले फरारको खोजिकार्य जारी राख्दै अनुसन्धानलाई अघि बढाएको छ।
प्रकाशित मिति: बिहीबार, असार २७, २०८१ १४:००













