News Griha :: न्यूजगृह
प्रचण्डलाई विश्वासको मत नदिन कांग्रेसको ‘ह्वीप’, अनिवार्य उपस्थित हुन निर्देशन

काठमाडौं— संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ। 

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले विज्ञप्ति जारी गर्दै प्रचण्डको विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन्। 

त्यस्तै भोलि प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थित हुन र तटस्थ नबस्न समेत निर्देशन दिइएको छ। 

‘मिति २०८१ साल असार २८ गते शुक्रबारका दिन बिहान ११ः०० बजे प्रारम्भ हुने प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डले संविधानको धारा १०० को उपधारा (२) बमोजिम आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गरिन्छ,’लेखकद्वारा जारी विज्ञप्तिमा भनिएको छ। 

प्रधानमन्त्री प्रचण्डले शुक्रबार बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदैछन्। सत्ता सहयात्री दल नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रचण्डले पुनः विश्वासको मत लिन लागेका हुन्।

यसअघि नै प्रधानमन्त्री प्रचण्डले ४ पटक विश्वासको मत लिइसकेका छन्। २०८० साल मंसिर ४ गते सम्पन्न निर्वाचनपछि पुस १० गते प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री बनेका थिए। 

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १३:११
Weather Update