News Griha :: न्यूजगृह
अब बन्ने सरकारमा विश्वप्रकाश मन्त्री बन्लान्? यस्तो छ उनको प्रतिक्रिया

काठमाडौं— एमाले–कांग्रेस मिलेर नयाँ सरकार बनाउने भएसँगै मन्त्री बन्नेहरुको चर्चा चल्न थालेको छ। 

दुवै दलबाट मन्त्री बन्नका लागि सांसदहरुले आ–आफ्नो लबिङ गरिरहेका छन्। क–कसलाई मन्त्री बनाउने विषयमा कांग्रेस–एमालेभित्र आन्तरिक छलफल चलिरहेको छ। 

यता एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री स्वीकारेर अघि बढ्न राजी भएको दल नेपाली कांग्रेसभित्र मन्त्री बन्नेहरुको चर्चा चलिरहेको छ। 

यसै क्रममा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भने आफू ओली नेतृत्वको सरकारमा मन्त्रीका रुपमा सामेल नहुने प्रतिक्रिया दिएका छन्।

बिहीबार बिहान झापा–१ स्थित आफ्नो निर्वाचन क्षेत्रमा अगुवा कार्यकर्ताहरुको भेलामा उनले सो कुरा बताएका हुन्।  

उनले दुई ठूला दलहरु मिल्दा संसद्मा प्रतिपक्षीको स्वर ठूलो भएको भन्ने गुनासो आउन थालेकाले भन्दै प्रतिपक्षी स्वरलाई कमजोर हुन नदिन आफू सरकारमा नजाने मनसाय बनाएको बताए। 

‘दुई ठूला दल मिल्दै गर्दा प्रतिपक्ष स्वर कमजोर हुन्छ भन्ने खालको वौद्धिक सर्कलको चासो र चिन्ता पनि छ,’ महामन्त्री शर्माले भने ‘प्रतिपक्ष स्वर कमजोर हुन नदिन पनि सरकारमा म जान हुन्न।’

त्यस्तै अर्का महामन्त्री गगन थापा सरकारमा जानु उपयुक्त रहेको समेत उनले बताए।

गत असार १७ गते कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउने सहमति भएको छ। सत्तामा मुख्य सारथी एमालेले सरकारलाईृ दिएको समर्थन फिर्र्ता लिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदैछन्। भोलि प्रधानमन्त्रीले विश्वासको मत लिएपछि नयाँ सरकार बनाउने तयारी कांग्रेस–एमालेको रहेको छ। 

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १२:२५
Weather Update