News Griha :: न्यूजगृह
भीषण वर्षा हुन थालेको भन्दै मौसम पूर्वानुमान महाशाखाले जारी गर्‍यो २४ घण्टे चेतावनी

काठमाडौं— बिहीबार बिहान मधेस प्रदेशका थोरै तथा बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।

साथै बागमती प्रदेशको चितवन जिल्ला र गण्डकी प्रदेशको नवलपुर र लमजुङ जिल्ला आसपास क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा भइरहेको र थप वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ, ‘कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान, सुदूरपश्चिम र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी, मधेस, बागमती,  गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १०:५६
Weather Update