
काठमाडौं— जनता समाजवादी पार्टी नेपालले २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ। पार्टीको महाधिवेशनले अध्यक्ष उपेन्द्र यादवलाई निर्विरोध चयन गरेको थियो।
अध्यक्ष यादवलाई बाँकी पदाधिकारी र सदस्य टुङ्गो लगाउने जिम्मेवारी दिएकाले सोहीअनुसार बिहीबार २१५ सदस्यीय केन्द्रीय समिति घोषणा भएको जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
अध्यक्ष यादवले ९ सदस्यीय कार्यकारिणी समिति समेत बनाएका छन्। पार्टीको विधानमा १५१ सदस्यीय समितिको व्यवस्था भएपनि यादवले २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका छन्।
जसपा नेपालको महाधिवेशन अध्यक्षबाहेकका अन्य पदमा भने उम्मेदवारी परेको थियो। जसअनुसार १ सहअध्यक्ष पदका लागि ३ जना, ५ उपाध्यक्ष पदका लागि २३ जना, २ महासचिवका लागि ६ जना र ३ उपमहासचिवका लागि १३ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका थिए। ७ सचिव पदका लागि ३४ जना र १ कोषाध्यक्षका लागि ३ जनाको उम्मेदवारी परेको थियो।
निर्वाचन प्रक्रिया स्थगित गरी जसपा नेपालले महाधिवेशन हलबाट समिति टुङ्गो लगाउने जिम्मेवारी अध्यक्ष यादवलाई दिएको थियो।