News Griha :: न्यूजगृह
बाँकी ११ जिल्लामा आगामी कार्तिकभित्र अधिवेशन गर्न एमालेको निर्देशन 

काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले बाँकी रहेका ११ जिल्लाको अधिवेशन आगामी कार्तिकभित्र सम्पन्न गर्न निर्देश दिएको छ। 

आज बसेको सचिवालय बैठकले मातहतका ११ जिल्लालाई आगामी कार्तिक मसान्तभित्र अधिवेशन गर्न निर्देशन दिएको हो। 

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले कार्तिक मसान्तभित्र ११ जिल्लामा अधिवेशन सम्पन्न गर्न निर्देशन दिने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। 

एमालेले गत जेठ मसान्तभित्र अधिवेशन गर्न ७७ वटै जिल्ला कमिटीलाई निर्देशन दिएकामा ६६ जिल्लामा मात्र अधिवेशन सम्पन्न भएको छ। इलाम, मोरङ, तेह्रथुम, सप्तरी, सिराहा, धनुषा, मनाङ, डोल्पा, डोटी, अछाम र बझाङमा अधिवेशन हुन बाँकी छन्।  

यस्तै सचिवालय बैठकले सबै जिल्लाहरूलाई साउन महिनाभित्र पार्टी सदस्यता नवीकरण गरी भदौ महिनामा केन्द्रीय कार्यालयमा पठाउनसमेत निर्देशन दिएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १७:३२
Weather Update