News Griha :: न्यूजगृह
संसदीय दलको बैठकमा प्रचण्डको ‘ब्रिफिङ’: ओलीले मसँग  ढाँटछल गर्नुभयो 

काठमाडौं— माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेबाट आफूहरुलाई धोका भएको टिप्पणी गरेका छन्। 

आज बसेको संसदीय दलको बैठकमा पछिल्लो राजीतिक घटनाक्रमबारे ‘ब्रिफिङ’ गर्दै प्रचण्डले सो कुरा बताएका हुन्। 

उनले एमाले–कांग्रेसबीच सहमति हुने दिन अर्थात् असार १७ गते पनि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लामो छलफल भएको सुनाए। 

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दैृ माओवादी प्रमुख सचेतक हितराज पाण्डेले प्रचण्डलाई उद्धृत गर्दै सरकारलाई प्रभावकारी ढंगले सञ्चालन गर्ने सहमति भए पनि अन्तिममा तोडिएको बताए।  

‘असार १७ गते प्रचण्ड र ओलीबिच झण्डै ३ घण्टा कुराकानी भएको सकारात्मक ढंगले नै सरकारको काम अघि बढाउने काम भएको थियो’,पाण्डेले भने, ‘कांग्रेससँग दस्तखत गरिसकेपछि पनि ओली बिहान प्रधानमन्त्रीसँग भेटेर सामान्य भेटघाट भन्नुभयो। केपीजीले ३ जना नेता बसौँ भन्नुभयो। मैले केपीजी ३ जना बसौँ भन्दै हुनुहुन्छ के हो भन्दा शेरबहादुर देउवाले दस्तखत भइसक्यो सरी भन्नुभयो। ढाँटछल भयो।’

त्यस्तै आजको बैठकले शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन पार्टीलाई ह्वीप जारी गर्ने र अन्य स्वतन्त्र सांसदहरुलाई आग्रह गर्ने निर्णय समेत भएको छ। 

एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रचण्डले शुक्रबार विश्वासको मत लिँदैछन्। पछिल्लो राजनीतिक घटनाक्रम र विश्वासको मतका विषयमा छलफल गर्न माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको थियो। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १७:१८
Weather Update