News Griha :: न्यूजगृह
संविधान संशोधनका लागि कार्यदल नै बनेको हो? यसो भन्छन् ओली 

काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनका लागि आयोग नबनेको स्पष्ट पारेका छन्।

गत असार १७ गते राति कांग्रेस–एमाले नयाँ समीकरण अनुसार अघि बढ्ने सहमतिसँगै संविधान संशोधनका विषयमा आयोग नै बनाएर अघि बढ्ने सहमति भएको कुरा बाहिरिएको थियो। 

आज बसेको एमाले सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले संविधान कार्यान्वयनको प्रक्रियामा आवश्यकताअनुसार संशोधन गर्दै जानुपर्ने बताए। तर अहिले नै संशोधनका लागि आयोग नबनेको स्पष्ट पारेका हुन्।  

ओलीले नेपाली कांग्रेससँग पनि यसै विषयमा छलफल भएको तर, संविधानका यी धारा र यी विषयमा परिवर्तन गर्ने भन्ने बारेका कुनै सहमति नभएको  प्रष्ट पारे। 

त्यस्तै एमाले र कांग्रेस मिलेर संविधान र व्यवस्था नै समाप्त पार्न लागेको भ्रामक प्रचारप्रति उनले आपत्ति जनाए। प्रदेशहरूमा महिना–महिनामा सरकार फेरिने स्थिति बनेका मापनि उनले चिन्ता व्यक्त गरे। 

अध्यक्ष ओलीको सचिवालयका अनुसार निजी र दलगत स्वार्थलाई केन्द्रमा राखेर गतिविधि सञ्चालन गर्ने, देशको विकास निर्माण र जनताका कामलाई केन्द्रमा नराख्ने र अस्थिरतामा रमाउने प्रवृत्तिका विरुद्ध कांग्रेस–एमाले एक ठाउँमा आउनु परेको उनले प्रष्ट पारे। ‘संविधान एउटा गतिशील दस्ताबेज हो, समाजको पथ प्रदर्शक हो, समाजलाई डोर्याउने मूल कानुन हो, यो मूल कानुन समय अनुकूल परिवर्तित, परिमार्जित हुँदै जानु उपयुक्त हुन्छ,’ उनले भने, ‘त्यसैले कतिपय कुरामा संविधान संशोधन गर्नुपर्छ भनेर भनेको हो। त्यसबारेमा विस्तृतमा पछि छलफल हुनेछ। अहिले धेरै कुरा बजारमा आएको बताउँदै अध्यक्ष ओलीले कांग्रेससँग यस विषयमा डिटेलमा कुनै कुरा नभएको स्पष्ट पारे। 

मन्त्रालय बाँडफाँट भएको छैन

उनले कांग्रेस र एमालेबीच मन्त्रालय  बाँडफाँट नभएको बताए। सरकारमा सबैदललाई स्थान दिने भन्ने विषयमा भने सहमति भएको उनले जानकारी दिए। 

उनले यदि उत्पादन बढाउन नसक्ने हो भने आयात वृद्धि हुने र नेपाल परनिर्भर हुने बताए। सबै कुरा राष्ट्रिय उत्पादनमा निर्भर हुनेमा उनले जोड दिए। 

उद्यमशीलता, कृषिमा आधारित उद्योग, व्यावसायिकता, आधुनिकीकरण र यान्त्रिकीरणमा ध्यान दिनु, उत्पादनका लागि प्रविधिमा जोड दिनु आजको आवश्यकता भएको अध्यक्ष ओलीले बताए। 

‘सडक, पूर्वाधार, विद्युत्, सञ्चारलगायत क्षेत्रका आधारभूत काम भएका छन, अब शिक्षालाई  व्यवहारमुखी बनाउने तर्फ लाग्नुपर्छ। कृषि क्षेत्रको विकासका लागि विशेष कार्यक्रम बनाउन आवश्यक छ,’ अध्यक्ष ओलीले भने।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १६:३३
Weather Update