News Griha :: न्यूजगृह
कैलालीमा अचेत भेटिएका २ पुरुषको मृत्यु

कैलाली— कैलालीमा अचेत भेटिएका दुई पुरुषको मृत्यु भएको छ। 

मङ्गलबार लम्कीचुहा नगरपालिकाका छुट्टा छुट्टै ठाउँमा अचेत अवस्थामा फेला परेका दुई पुरुषको मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ। मृतकमध्ये एक जनाको मात्रै सनाखत भएको छ। सनाखत हुनेमा लम्कीचुहा नगरपालिका–५ का ५१ वर्षीय सागर विक छन्। अर्का मृतकको नाम, थर, वतन नखुलेको प्रहरीले जनाएको छ। 

विक मङ्गलबार बाटोमा अचेत अवस्थामा फेला परेका थिए। इलाका प्रहरी कार्यालय लम्कीबाट खटेको प्रहरी टोलीले उपचारको लागि स्थानीय अस्पताल भल्कामा पुऱ्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्। 

त्यसैगरी अन्दाजी ५६ वर्षका पुरुष लम्कीचुहा–३ खैरेनीस्थित रानी जमरा कुलरिया सिँचाइ आयोजनाको नहरमाथि अचेत अवस्थामा फेला परेका थिए। 

उनलाई इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरीले उद्धार गरेर उपचारका लागि लम्कीस्थित लालरत्न अस्पतालमा पुऱ्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्। 

दुवै घटनाका बारेमा थप अनुसन्धान जारी छ।   

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  ०९:१९
Weather Update