News Griha :: न्यूजगृह
साउन १ देखि मर्यादाक्रम अनुसार तलब समायोजन

काठमाडौं— सर्वोच्च अदालतले मर्यादाक्रम अनुसार फरक रहेको तलबमान आगामी आर्थिक वर्षदेखि नै समायोजन गर्न आदेश गरेको छ ।

अदालतको आदेश अनुसार तलबमान समायोजन साउन १ गतेदेखि नै लागू हुने छ। समान मर्यादाक्रममा रहेका तर अन्य सरकारी सेवाको भन्दा कम सुरु तलब रहेको कर्मचारीको तलब समायोजन गर्न सर्वोच्चले असार १० गते परमादेश आदेश जरी गरेको थियो।

आदेश अनुसार निजामती सेवाका राजपत्राङ्कित प्रथम, द्वितीय र तृतीय श्रेणीका कर्मचारीको सुरु तलबमान मर्यादाक्रममा रहेका अन्य सरकारी सेवामा रहेका कर्मचारीसरह हुने छ।

सर्वोच्चको आदेशमा भनिएको छ, ‘कर्मचारीको मनोबल उच्च राख्न नसकेको तथा थप अनिश्चितता सिर्जना भएकाले आगामी आव २०८१–०८२ को सुरुबाट नै सुरु तलबमान आवश्यक समायोजन गरी विभेद र असमानता सम्बोधन हुनुपर्ने नै देखिन्छ ।’

अहिले समान मर्यादाक्रममा अघि रहेका निजामती सेवाका सहसचिव तथा सोसरहका अन्य पदमा रहेका कर्मचारीभन्दा मर्यादाक्रममा पछि रहेका सुरक्षा निकायका अधिकारीको पारिश्रमिक बढी छ। सहसचिव मर्यादाक्रमको १६ औँ स्थानमा छन् ।

सुरु तलब ५६ हजार ७८७ छ तर १७ औँ नम्बरमा रहेका नेपाली सेनाका सहायक रथीको पारिश्रमिक ६० हजार ९५० छ । आदेशानुसार अब पारिश्रमिक पुनरावलोकन हुने छ। 

यस्तै समान मर्यादाक्रममा रहेका निजामती सेवा उपसचिव वा सोसरहका कर्मचारी र प्रमुख सेनानी र प्रहरी उपरीक्षकको तलब फरक छ। उपसचिवको सुरु तलबमान ४८ हजार ७३७ छ। सुरक्षा निकायमा ५२ हजार २७९ रुपियाँ छ।

यस्तै निजमती सेवाका शाखा अधिकृत वा सोसरहका अन्य कर्मचारीको सुरु तलबमान ४३ हजार ६८९ रुपियाँ छ । मर्यादाक्रममा पछि रहेका उपसेनानीको तलब ४५ हजार १०३ रुपियाँ छ । सुरक्षा निकायतर्फ पनि प्रहरी निरीक्षकको तलबमान भने निजामती सरह छ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असार २६, २०८१  ०७:४५
Weather Update