
सिरहा— कल्याणपुर नगरपालिका–६ भोक्रहास्थित कमला नदिमा फसेका चार जनाको सशस्त्र प्रहरीले मङ्गलबार सकुशल उद्धार गरेको छ।
उद्धार गरिएकाहरू सोही ठाउँ बस्ने ५५ वर्षीय मनिया कापर, ५० वर्षीय सेवक साह, ३७ वर्षीय मोहम्द हाकिम राई र ३५ वर्षीय अलादिन राई छन्। दाउरा लिन गएको अवस्थामा एक्कासि पानीको बहाव बढेपछि उनीहरु सो नदिको बीच भागमा फसेका थिए।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश कल्याणपुरबाट खटिएको सुरक्षा फौजले उनीहरूलाई सकुशल उद्धार गरेको हो। त्यसैगरी सोही नगरपालिका–२ स्थित कमला नदिको बीच भागमा फसेका दुई जनाको सशस्त्र प्रहरीले दिउँसो करिव २ बजे सकुशल उद्धार गरेको छ।
धनुषाको कमला नगरपालिका–७ बस्ने ३० वर्षीय विष्णुदेव गोइत र २९ वर्षीय श्यामकुमार महतो एक्कासि आएको बाढीको कारण सो नदिमा बीच भागमा फसेका थिए।
उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश कल्याणपुरबाट खटिएको सुरक्षा फौजले रबर बोटको सहयोगमा सकुशल उद्धार गरेको हो।













