News Griha :: न्यूजगृह
नक्कली लाइसेन्स बनाएर बिक्री गर्ने १५ जनाविरुद्ध मुद्दा दायर 

काठमाडौं— नक्कली चालक अनुमति पत्र (लाइसेन्स) बनाएर बिक्री गरेको आरोपमा १५ जनाविरुद्ध मुद्दा दायर भएको छ। 

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बुटवलस्थित कार्यालयका तत्कालीन प्रमुखसहित १५ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। 

उक्त विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको थियो। सीआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो। 

मुद्दा दायर हुनेहरुमा यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालीन प्रमुख (हाल वन मन्त्रालयका उपसचिव) केशव अर्याल, सोही कार्यालयमा कार्यरत शाखा अधिकृत सुवास पौडेल, यातायात कार्यालय नवलपरासीमा कार्यरत कम्युटर अधिकृत पदमराज आचार्य, यातायात कार्यालय चितवनमा कार्यरत सहायक कम्युटर अपरेटर राजेश लम्साल, यातायात कार्यालय जनकपुरमा कार्यरत सहायक कम्युटर अपरेटर दिलिपकुमार साह, सिन्धुपाल्चोकको बाह्रबिसे घर भएका केशव पौडेल रहेका छन्। त्यस्तै हाल झापा जिल्ला कारागारमा रहेका ४१ वर्षीय विजय चौधरीविरुद्ध समेत मुद्दा दायर भएको छ। 

त्यसैगरी नक्कली लाइसेन्स प्रकरणमा जोडिएका लक्ष्मण पाण्डे, रामकृष्ण श्रेष्ठ, ज्ञानराज पाण्डे, यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालीनसहायक कम्युटर अपरेटर नारायणप्रसाद पाण्डे, झापाका विवेक भण्डारी, कावासोतीका प्रबिन भनिने फानेश्वर सापकोटा र नवलरासीका सन्दीप श्रेष्ठ फरार रहेका छन्। उनीहरुविरुद्ध पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ। 

उनीहरुविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा २७६ अनुसारको लिखतसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ। उक्त कसुर गर्नेहरुमाथि ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ।

उक्त समूहले एक व्यक्तिसँग १ लाखसम्म लिएर नक्कली लाइसेन्स बनाइदिने गरेको अनुसन्धानले देखाएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १७:०१
Weather Update