
काठमाडौं— राष्ट्रिय सभाको बुधबारको बैठकमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको सङ्ख्या परिमार्जन गर्न माग गरिएको छ ।
बैठकको शून्य समयमा सांसद् खिमलाल देवकोटाले शासन व्यवस्था तथा पार्टी नेतृत्व तहमा सुधारको आवश्यकता औँल्याए । उनले भने, ‘प्रधानमन्त्रीको कार्यकाल दुईपटक, सासंद वा मन्त्री तीनपटक र पार्टी/दलको नेतृत्व दुई कार्यकालभन्दा बढी नहुने व्यवस्था गरौँ । समानुपातिक समावेशी सहभागितालाई प्रत्यक्ष निर्वाचन प्रणालीमै समावेश गरी समानुपातिक निर्वाचन प्रणाली खारेज गरौँ ।’
उनले प्रतिनिधि सभामा सदस्य सङ्ख्या दुई सय ७५ बाट घटाएर एक सय ६५ र प्रदेश सभाको सङ्ख्या पाँच सय ५० बाट घटाएर तीन सय ३० मात्रै कायम गर्न सुझाव दिए ।
विभिन्न आयोग तथा सरकारी कार्यालयमा हुने नियुक्ति प्रक्रिया नियमसङ्गत नरहेको पनि उनको भनाइ छ । ‘अदालत, संवैधानिक निकाय, विश्वविद्यालयलगायतका निकायहरूमा दलीय भागबन्डाका आधारमा गरिने नियुक्ति र सार्वजनिक संस्थानहरूमा पार्टी सदस्य भर्ना गर्नेकाम बन्द गरौँ,’ उनले भने ।
नागरिकका समस्या र गुनासा तत्कालै सम्बोधन गर्न सरकारले संयन्त्र बनाउनुपर्ने उनको सुझाव छ ।













