News Griha :: न्यूजगृह
मुकुल ढकाललाई रास्वपाले गर्‍यो पदमुक्त, साधारण सदस्य भने रहने 

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा. मुकुल ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट निष्काशन गरेको छ। 

आज बसेको केन्द्रीय समितिले बैठकले ढकाललाई साधारण सदस्य रहने तर महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट निष्काशन गरेको हो। 

बैठकपछि पार्टीका सहप्रवक्ता मनिष झाले सो कुरा जानकारी गराएका हुन्। 

‘पार्टीको विधानको धारा ५६ बमोजिम पार्टीको साधारण सदस्य कायम राखी पार्टी प्रवक्ता, महामन्त्री तथा केन्द्रीय समिति सदस्यबाट पदमुक्त गर्ने सर्वसम्मत निर्णय गरियो,’ उनले भने। 

त्यस्तै पार्टीले गरेको निर्णयमा चित्त नबुझेमा ३५ दिनभित्र पार्टीको पुनरावेदन समितिमा निवेदन दिनसक्ने निर्णय समेत गरेको उनले बताए।  

ढकालले पार्टीको हित विपरित काम गरेको भन्दै पार्टीको अनुशासन विभागले कारबाहीको लागि सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा आज बसेको बैठकले पदमुक्त गर्र्ने निर्णय गरेको हो।  

यता मुकुलले भने आफूलाई पार्टीले निष्काशन गरे पनि राष्ट्रिय स्वतन्त्र पार्टीलाई पार्टी जस्तो बनाउने अभियानमा निरन्तर लाग्ने प्रतिक्रिया दिएका छन्। 

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १३:४६
Weather Update