
काठमाडौं— सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले बदनियतपूर्ण ढंगले संविधान संशोधनको मुद्दा अघि सारिएको आरोप लगाएका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै सांसद दाहालले ७ बुँदे सहमतिको नाममा कांग्रेस–एमालेले भ्रष्टाचारीहरुलाई जोगाउन लागि परेको आरोप लगाए।
त्यस्तै उनले प्रधानमन्त्रीले गृहमन्त्रीलाई भ्रष्टाचारका अरु फाइलहरु खोल्न निर्देशन दिएपछि कांग्रेस–एमालेमा बेचैनी सुरु भएको र सरकार परिवर्तनको प्रपञ्च रचिएको बताए।
उनले संविधान संशोधन गर्ने नै भए निर्वाचनका बेला आफ्नो घोषणापत्रमा उक्त मुद्दा राखेर अघि बढ्नुपर्ने बताए। तर संविधान संशोधन नै गर्ने भएमा पनि पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, दलित महिला तथा उपेक्षित वर्गको पुनरोत्थानका लागि हुनुपर्ने बताए।
‘प्रधानमन्त्रीज्यूकै निर्देशनमा गृहमन्त्रीले जब फाइल खोल्ने निर्णय गर्नुभयो त्यसपछि बैचनी सुरु भयो। त्यसपछि सरकार ढाल्ने प्रपञ्च सुरु भयो। यो जनता र राष्ट्रका लागि भनेर उहाँहरुले सहकार्य सुरु गर्नुभएको होइन,’ उनले भने, ‘७ बुँदे सहमति भनेर संविधान संशोधनलाई मुख्य केन्द्र बनाएर सहकार्र्य भनिएको छ। संविधान संशोधन त्यतिबेला गर्न पाउनुहुन्छ, जतिबेला तपाईँहरुले निर्वाचनमा, चुनावी घोषणापत्रमा संविधान संशोधनको मुद्दा राख्नुपर्नेछ। जनतालाई झुक्याउने? संविधान संशोधन के का लागि? साच्चिकै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिसँग जोडिएर संविधान संशोधन गर्न सकिन्छ। पूर्ण समानुपातिक निर्वाचन प्रणालीसँग जोडिएर संविधान संशोधन गर्न सकिन्छ।’
त्यस्तै नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि एकाएक सत्ता समीकरण परिवर्तनको नाटक गरिएको दाबी गरे। साथै सरकारलाई समर्थन गरेको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिने संवैधानिक प्रावधान अनुसार नै प्रधानमन्त्रीले विश्वासको मत लिन लाग्दा विपक्षीबाट असंवैधानिक कदम चाल्न लागेको जसरी आवाज उठेको बताए।