News Griha :: न्यूजगृह
मुकुल भन्छन्– मलाई रवि लामिछाने क्लबबाट निकाले पनि घण्टी बज्न छाड्दैन
फाइल तस्बिर

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालले आफू कारबाहीमा परे पनि आफ्नो अभियान नरोकिने बताएका छन्। 

उनले जारी गरेको प्रतिवेदन लगायतका विषयलार्ई लिएर रास्वपाको अनुशासन आयोगले कारबाहीका लागि सिफारिस गरेपछि सो कुरा बताएका हुन्।  

रास्वपालाई सभापति रवि लामिछानेले आफ्नो निजी क्लब जस्तो बनाएको आरोप लगाउँदै पार्टीबाट निष्काशनमा परे पनि रास्वपाको घण्टी बज्न नछाड्ने टिप्पणी गरे। 

त्यस्तै रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने अभियानमा आफू निरन्तर लागिरहने उनले बताए। 

उनले भनेका छन्, ‘रवि लामिछाने क्लबबाट निष्काशित भएको हुँ। राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन , रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन। बाँकी कुरा भोलि...।’

उनलाई गत असार २० गते बुधबार बसेको केन्द्रीय समितिले सात दिनका लागि महामन्त्री र प्रवक्ताबाट निलम्बन गर्ने निर्णय गरेको थियो। 

ढकालले देशका विभिन्न ३८ जिल्ला पुगेर तयार पारेको प्रतिवेदन पार्टीलाई बुझाएपछि पार्टीभित्र खटपट सुरु भएको थियो। उनले आफूमाथि विभिन्न आरोप लगाइएको भन्दै प्रतिवेदनमार्फत् त्यसको भण्डाफोर गरेको दाबी गरेका छन्। यसअघि बसेको केन्द्रीय समिति बैठकमा उक्त प्रतिवेदन पेस भएको थियो 

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १२:५७
Weather Update