काठमाडौं— फ्रान्समा संसदीय निर्वाचनमा आश्चर्यजनक नतिजा आएको छ। यी नतिजाहरू कसैले अपेक्षा गरेका छैनन्। चुनावअघि फ्रान्समा दक्षिणपन्थी पार्टी नेशनल र्यालीले ठूलो जित दर्ता गर्न सक्ने केही मानिसहरूले विश्वास गरेका थिए। एक साताअघिसम्म यो पार्टी पहिलो चरणमा अगाडि थियो।
सोमबार बिहान नतिजा आउन थालेपछी अर्कै तस्बिर अगाडि आयो। वामपन्थी र केन्द्रिय दलको गठबन्धन न्यु पपुलर फ्रन्ट वा एनएफपीले नेशनल र्यालीलाई रोक्न ठूलो सफलता हात पारेको छ।
नयाँ पपुलर फ्रन्ट १८२ सिटसहित पहिलो स्थानमा छ त्यस्तै राष्ट्रपति इमानुएल म्याक्रोन नेतृत्वको गठबन्धनले १६८ सिट, नेशनल र्याली र गठबन्धनले १४३ सिट जित्यो।
५७७ सदस्यीय संसद्मा कुनै पनि गठबन्धनले स्पष्ट बहुमत पाउन सकेको छैन। फ्रान्समा कुनै एकल गठबन्धनले सरकार बनाउने सम्भावना कम छ।
फ्रान्सेली चुनावको नतिजापछि पेरिसका केही क्षेत्रमा हिंसा पनि देखिएको छ। एक्जिट पोलले नेशनल र्याली तेस्रो स्थानमा खस्ने र त्यसपछि नतिजा आउने भविष्यवाणी गरेपछि हजारौं मानिस पेरिसको सडकमा उत्रिए। कतिपय ठाउँमा हिंसा पनि भएको छ।
पेरिसमा सुरक्षा व्यवस्था कडा पारिएको छ र दङ्गा नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको छ। पेरिसमा वामपन्थी समर्थकहरूले र्याली निकालेका छन्।
फ्रान्समा त्रिशङ्कु संसद् हुने भएको छ। ५७७ सिट भएको संसद्मा सरकार गठनका लागि आवश्यक २८९ सिट आवश्यक पर्छ।
फ्रान्समा यो ठूलो फेरबदलको कारण गठबन्धन राजनीति रहेको बताइएको छ। एक साताअघिसम्म नेशनल र्यालीका समर्थक र नेताहरूले बहुमत ल्याउने बताइरहेका थिए।
गत निर्वाचनमा नेशनल र्यालीमा ८८ सांसद थिए भने अहिले १४० भन्दा बढी सांसद छन्। राष्ट्रपति इमानुएल म्याक्रोनले संसद् भङ्ग गरी चुनाव गराएका हुन्।