News Griha :: न्यूजगृह
कांग्रेस–एमालेबीच मन्त्रालय भागबन्डामा ‘लगभग’ सहमति, कसलाई कति मन्त्रालय? 
फाइल तस्बिर।

काठमाडौं— नेपाली कांग्रेस र नेकपा एमाले नयाँ सरकार गठनको तयारीमा छन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यक्रम लगत्तै नयाँ सरकार गठनको लागि उनीहरू आन्तरिक छलफलमा जुटेका हुन्।

आगामी शुक्रबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तयारी गरेका छन्।  तर, उनले विश्वासको मत पाउने सम्भावना भने छैन। 

कांग्रेस–एमालेबीच भएको सहमतिअनुसार पहिलो दुई वर्ष एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदै छन्। त्यसपछिको डेढ वर्ष कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने समझदारी भएको छ। 

गत असार १७ गते कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच सत्ता सहकार्य गर्ने सहमति भएको हो।

पहिलोपटक ओली प्रधानमन्त्री हुँदा अर्थ मन्त्रालय उनैले राख्नेछन्। कांग्रेसको भागमा गृह मन्त्रालय पर्ने समझदारी भएको छ। 

प्रारम्भिक समझदारीअनुसार सरकारको नेतृत्व गर्ने एमालेले ९ र कांग्रेसले १० मन्त्रालय लिने समझदारी भएको स्रोतको दाबी छ। कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले विश्वासको मत लिएलगत्तै नयाँ सरकारको फर्मेसनको काम पनि टुङ्गिने बताए।

‘असार २८ गते प्रधानमन्त्रीले विश्वासको मत लिनुहुन्छ। त्यसलगत्तै सरकारको फर्मेसन हुन्छ,’ लेखकले भने, ‘मन्त्रालयमा कांग्रेस र एमालेबीच ५०–५० प्रतिशत लिने समझदारी भएको छ।’ 

सरकारले गर्ने काम, मन्त्रालयको भागबन्डामा सहमति जुटाउन कांग्रेस–एमालेबीच कार्यदल बनेको छ। कार्यदलमा कांग्रेसबाट रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की र गगन थापा सदस्य छन्। 

एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल सदस्य छन्। कार्यदल स्तरमा दुई/तीन चरणसम्म छलफल भइसकेको स्रोतको दाबी छ।

प्रधानमन्त्रीको विश्वासको मतको विषय टुङ्गिएपछि मन्त्रीसहितको विषय टुङ्गिने कार्कीले बताए। 

‘जे कुराका लागि कांग्रेस र एमालेबीच समझदारी बनेको हो। मुलुकलाई अगाडि बढाउने हिसाबले अघि बढ्छौ,’ कार्कीले भने, ‘एमालेले अर्थ र कांग्रेसले गृहमन्त्रालय लिने बाहेक अहिले नै अरु मन्त्रालय भागबन्डाको चरणसम्म प्रवेश गरिसकेका छैनौँ। धेरै कुरा यसपटक हाम्रो सभापति र एमाले अध्यक्ष ओलीजीबीच ‘वान अन वान’ वार्ता गरेर टुङ्गो लाग्छ।’

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असार २४, २०८१  २१:२७
Weather Update