News Griha :: न्यूजगृह
एमाले–कांग्रेसलाई माओवादीको प्रश्न: प्रधानमन्त्रीले विश्वासको मत माग्नु कसरी नैतिकता बाहिर? 

काठमाडौं— नयाँ समीकरण अनुसार एमाले–कांग्रेस मिलेर सरकार बनाउने सहमतिपछि प्रधानमन्त्रीका राजीनामा खोज्न थालिएको छ। 

एमाले र कांग्रेसका सांसदहरुले सडकदेखि सदनसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्न थालेका छन्। प्रधानमन्त्री प्रचण्डले भने आगामी असार २८ गते विश्वासको मत लिने तयारीसहित संसद् सचिवालयलाई जानकारी नै गराइसकेका छन्। 

संसद् बैठकमा एमाले–कांग्रेस सांसदहरुले राजीनामा माग्न थालेपछि माओवादीका सांसदहरु भने संवैधानिक व्यवस्था अनुसार विश्वासको मत लिन लागेको भन्दै बचाउमा उत्रिरहेका छन्। 

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा पनि केही सांसदहरुले राजीनामा माग गरे। सो क्रममा एमाले प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्रीले संविधान अनुसार विश्वासको मत माग्दा नैतिकता प्रश्न गर्न जायज नरहेको भन्दै बचाउ गरे। उनले अल्पमतमा परेको प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भन्ने सांसदहरुको प्रश्नबारे उत्तर दिँदै भने, ‘संविधानलाई पालना गर्नु, संविधान अनुसार विश्वासको मत माग्नु नैतिकता भन्दा बाहिरको विषय हो?’

त्यस्तै गत सोमबार राति एमाले–कांग्रेसबीच भएको सहमति बाहिर नआएको भन्दै त्यसलाई जनताले थाहा पाउने गरी बाहिर ल्याउनुपर्नेमा जोड दिए। उनले दुई ठूला दलले सरकार नै बनाउनेगरी गरेको भनिएको सहमति गुपचुप राख्न हुने बताउँदै त्यसरी सहमति लुकाउनु नैतिकताभित्र पर्छ कि पर्दैन? भन्दै प्रश्न गरे। 

‘संसदमा नैतिकताको कुरा उठिरहेको छ। मध्यरातमा दुई ठूला दलका बीच के सहमति भएको हो? त्यो नेपाली जनताले जानकारी पाउनुपर्ने विषय नैतिकताभित्र पर्दैन,’ उनले भने। 

असार १७ गते राति एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच नयाँ समीकरण अनुसार सरकारको सहकार्य गर्नेसहितको सहमति भएको छ। उक्त सहमति बाहिर नल्याइएको भन्दै प्रश्न समेत उठ्न थालेको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १४:१३
Weather Update