News Griha :: न्यूजगृह
संसद्को शून्य समयः बाढीपहिरोको क्षतिदेखि प्रधानमन्त्रीको राजीनामासम्म

काठमाडौं— सांसदहरुले केही दिनदेखिको अविरल वर्षाबाट देशभर आएको बाढीपहिरो, डुबानलगायत विपद्बाट भएको धनजनको क्षतिको वास्तविक विवरणबारे जानकारी दिन सरकारसँग माग गरेका छन्। 

सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसदहरुले मनसुनी वर्षापछि देशभरको प्रभावित भएको जनजीवनको अवस्थाबारे जानकारी गराउन माग गरेका हुन्। 

बैठकमा बोल्दै सांसद शेरबहादुर कुँवर, हेमराज राईले बाढी, पहिरो र डुबानबाट भएको क्षतिको विवरण उपलब्ध गराउन सरकारसँग माग गरे।

मनसुनी विपद्का कारण घरबास गुमाएकालाई पुनर्वासको व्यवस्थासहित राहत उपलब्ध गराउन, घाइतेलाई शीघ्र उपचार गराउन, हराइरहेकाको खोजी तीव्र पार्न र जोखिमका रहेका बस्तीको स्थानान्तरणका लागि सांसदहरुले माग गरेका हुन्।

त्यस्तै शून्य समयमा सांसदहरु शोभा ज्ञवाली, सन्तोष चालिसे, सीताकुमारी राना, सपना राजभण्डारी, सीता मिजार, सुशीला श्रिपाली ठकुरी, सूर्यमान तामाङ दोङले प्राकृतिक विपद् व्यवस्थापन, राहत तथा उद्धारका कार्यमा शीघ्रता दिन सरकारलाई आग्रह गरे। 

यसैगरी बाढी, पहिरोका कारण देशभरका राजमार्ग अवरुद्ध भएको विषय संसद्मा उठाउँदै सांसदहरुले सहज यातायात आवागमनको व्यवस्था गर्नुपर्नेमा जोड दिए। बाढी, पहिरो र डुबानको जोखिम भएका स्थान पहिचान गरी त्यहाँका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने, पूर्वसूचना प्रणाली प्रभावकारी बनाउनुपर्ने, आकस्मिक उपचारका लागि अस्पताल तयार पारिनुपर्ने, उद्धारका लागि हवाई एम्बुलेन्सको व्यवस्था गर्नुपर्नेलगायत माग सांसदहरुले माग गरे।

यसैगरी सांसद शान्ति विकले गृहमन्त्रालयले विभिन्न भ्रष्टाचारका काण्ड छानबिनमा ढिलाइ गरेको र राजनीतिक समीकरण फेरबदल हुनुमा वर्तमान सरकारको कार्यशैली जिम्मेवार रहेको आरोप लगाइन्। सांसदहरु डा स्वर्णिम वाग्ले र सन्तोष परियारले अहिलेको सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त बेचन झालाई पक्राउ गरेपछि अरु व्यक्ति पनि पक्राउपर्ने डरले सत्तासमीकरण फेरबदल चलेको आरोप लगाए।

सांसद सम्झना थपलिया हुलाकी राजमार्गअन्तर्गत सिराहा र धनुषा जिल्ला जोड्ने कमला नदीको पुल उपयोगमा नआउँदै भासिएको सदनलाई जानकारी गराउँदै गलत डिजाइन र कमसल निर्माण सामग्रीका कारण भासिएको बताइन्। उनले त्यसबारे अध्ययन गरी दोषीलाई कारबाहीको माग गरिन्।

त्यस्तै सांसद सरस्वती बजिमयले सुन तस्करी प्रकरणबारे छानबिन प्रतिवेदनले दिएका सुझाव कार्यान्वयन गर्न र प्रतिवेदनले देखाएका दोषीलाई कारबाहीको प्रक्रिया अघि बढाउन माग राखिन्।

अर्का सांसद सराज अहमद फारुकीले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्रीसँग आग्रह गरे। मुलुकमा राजनीतिक स्थिरताका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको उनले बताए। 

सांसद सूर्यमान तामाङ दोङले पनि राजनीतिक समीकरण बदलिएकाले प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा गर्नुपर्नेमा जोड दिए।सांसद सुशीला थिङले राष्ट्रिय परिचयपत्रमा प्रयोग हुने फोटोमा विवाहित महिलाले सिन्दुर पोते लगाउन नपाइने व्यवस्था हटाइनुपर्ने बताइन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १३:०५
Weather Update