News Griha :: न्यूजगृह
बाढीमा बगेर कैलाली र कञ्चनपुरमा दुई जना बेपत्ता

कैलाली— वर्षासँगै नदीमा आएको बाढीमा बगेर कैलाली र कञ्चनपुरमा दुई जना बेपत्ता भएका छन्।

प्रदेश प्रहरी कार्यालय धनगढीले कैलालीको कैलारी गाउँपालिका–९ गदरिया गाउँको भुर्रा नदीमा डुबेर आइतबार साँझ सोही ठाउँका १८ वर्षीय अजय राना बेपत्ता भएका छन्। नुहाउने क्रममा डुबेर बेपत्ता भएका रानाको प्रहरीले खोजी गरिरहेको छ।

यस्तै आइतबार नै कञ्चनपुरको बेलडाँडी गाउँपालिका––३ का २३ वर्षीय डम्मर चौधरी नजिकै रहेको चौदर नदीमा डुबेर बेपत्ता भएका छन्। नदीमा माछा मार्न गएको बेला चौधरी डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ। प्रहरी टोलीले खोजी गरिरहेको छ।

अविरल वर्षासँगै दुई जिल्लाका विभिन्न नदी र खोलाको जल सतह बढेपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले सूचना गरेको छ।

अविरल वर्षासँगै महाकाली, कर्णाली, ठूलीगाड, मोहना, खुटिया, कान्द्रा, घुरुवा, कटैनी, स्याली, दोदा, चौदरलगायतका नदी र खोलामा जलसतह बढेको छ। वर्षासँगै कैलाली र कञ्चनपुरका होचो भूभागमा रहेका बस्ती डुबानमा परेपछि धेरै परिवार विस्थापित भएका छन्।

डुबानमा परेको कैलालीको भजनी, जानकीनगर क्षेत्रका बासिन्दा अग्लो स्थानमा रहेको हुलाकी राजमार्ग खण्डमा बसेका छन्। कैलालीको कटैनी नदीमा जडान भएको पूर्वा सूचना दिने यन्त्र गएरातिको बाढीले बगाएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असार २४, २०८१  ११:३७
समसामयिक
Weather Update