
कञ्चनपुर— लगातारको वर्षापछि आएको बाढीले कञ्चनपुरको केही जमिन डुबानमा परेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बाढीले अधिकांश भूभागलाई प्रभावित बनाएको छ। महाकाली र जोगबुडा नदीमा आएको बाढी बस्तीमा पसेपछि दोधारा चाँदनी नगरपालिका–१० को तीन बस्ती डुबानमा परेका छन्। जोगबुडा पारीको कुतियाकभर तथा वारीका शान्ति टोल र लिसानी टोल डुबानमा परेका छन्।
त्यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर नगरपालिका र दक्षिणी क्षेत्रका अधिकांश बस्तीमा बाढी पसेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले जिल्लाभर बाढीबाट प्रभावित एक हजार छ सय २२ जना को उद्धार गरी सुरक्षित स्थानमा सारिएको जानकारी दिए।
'बाढीले जिल्लाका अधिकांश बस्ती डुबानमा परेका छन्,' उनले भने, 'डुबानबाट प्रभावितलाई नजिकै विद्यालय र आफन्तकोमा सारिएको छ।'
त्यसैगरी उनले बाढीमा परी कृष्णपुर नगरपालिकाको वडा–१ पोतीपुरमा सात महिनाका शिशु सोलु धानुकको मृत्यु भएको बताए। प्रवक्ता जोशीले भने, 'घरमा सुतेको अवस्थामा बाढी पसेपछि डुबेर शिशुको मृत्यु भएको छ।'
पछिल्लो २४ घण्टामा कञ्चनपुरमा ६२०.४ मिलिमिटर पानी परेको छ। यो हालसम्मकै अत्यधिक वर्षा हो। यस्तै, कञ्चनपुरको हनुमाननगरमा ५७० मिलिमिटर वर्षा भएको छ।
यसैबीच कञ्चनपुरको वेदकोट नगरपालिका–७ मा पूर्वपश्चिम राजमार्गमा पर्ने कल्भर्ट भासिएपछि राजमार्ग अवरुद्ध भएको छ ।













