News Griha :: न्यूजगृह
मनसुनको न्यून चापीय रेखा दक्षिणतर्फ सर्दै,  यस्तो छ आज र भोलिको मौसम पूर्वानुमान

काठमाडौं— मनसुन न्यून चापीय रेखा सोमबारदेखि क्रमिकरूपमा दक्षिणतर्फ सर्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। योसँगै नेपालमा मनसुनको सक्रियतामा कमी आइ वर्षाको मात्रामा केही कमी आउने सम्भावना रहेको छ। 

तथापि केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

सोमबार देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। वर्षाको कारण भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम कायम रहेको छ।

खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनकजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा महाशाखाको अनुरोध छ।

भोलि मङ्गलबार देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।   

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  ०६:२६
Weather Update