News Griha :: न्यूजगृह
दर्दनाक घटना: भारतमा एकै परिवारका ७ जनालाई एकसाथ बाढीले बगायो [भिडिओसहित]
तस्बिरः भारतीय सञ्चारमाध्यमले प्रसारण गरेको भिडिओबाट लिइएको हो।

काठमाडौं— सामाजिक सञ्जालमा अहिले भारतमा एकै परिवारका ७ जनालाई बाढीले बगाएको एउटा भिडिओ भाइरल भइरहेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार घटना यही असार १६ गते (जुन ३० तारिख)को हो।

महाराष्ट्र राज्यको मुम्बईबाट ८० माइल टाढा लोनावालामा एकै परिवारका ७ जना बिदा मनाउन गएका थिए। जहाँ बाँध बाँधेर झरना बनाइएको छ। त्यस दिन बिहानैदेखि भइरहेको अविरल वर्षाका कारण बाँध पानीले भरिएको थियो। जसका कारण झरनामा पानीको बहाव तीव्र थियो।

रमाइलो गर्ने क्रममा त्यो परिवारका सातै जना झरनामा गए। तर अचानक आएको बाढीले उनीहरूलाई बगाउन थाल्यो। सार्वजनिक भिडिओमा उनीहरू आत्तिँदै एकअर्कालाई समातेर ढुंगामा उभिएको देखिन्छ। 

तर केही मिनेटमै, पानीको बलियो छालले उनीहरूलाई जित्यो र उनीहरू सबै पानीसँग बगे। उद्धारका लागि उनीहरू चिच्याए। त्यहाँ उपस्थित अन्य पर्यटकले चाहेर पनि बचाउन सकेनन्। घटनाको जानकारी पाएलगत्तै स्थानीय प्रहरी घटनास्थल पुगेको थियो।

उनीहरूले पीडितहरूलाई उद्धार गर्ने प्रयास गरे। तर सकेनन्। त्यस क्रममा दुई जना मात्र पौडी खेलेर निस्किन सफल भए। बेपत्ता पाँचमध्ये त्यही दिन ३ जनाको शव भेटियो भने भोलिपल्ट थप एक जनाको शव भेटियो। योसँगै मृत्यु हुनेको संख्या चार पुगेको छ भने अर्का एक जनाको खोजी जारी रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। 

हेर्नुहोस् भिडिओ


 

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  २१:५४
Weather Update