
काठमाडौं — बिहिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गरेको ट्वीट, याद छ ? छैन भने याद गर्नुपर्ने हुन्छ । ‘हिजो १५ मार्च बेलुकीदेखि ट्वीटर ह्याण्डलमा अनाधिकृत रुपमा प्रवेश गरी असम्बन्धित ट्वीटहरु गरिएको घटनाबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं’ सचिवालयले सूचना जारी गर्यो
सरकारी सोसियल ह्याण्डलहरुमा अनाधिकृत व्यक्ति प्रवेशको सूचना जारी गर्ने र निजिकरण गर्ने प्रवृत्ति नौलो होइन, यस्ता घटना पद फेरबदलसँगै भइरहेका हुन्छन् । एउटा यस्तै काम गरिन्, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले ।
फागुन २९ गते शीतलनिवासबाट बाहिरिएसँगै भण्डारीले, राष्ट्रपति कार्यालयको आधिकारिक ट्वीटर ह्याण्डललाई निजी बनाइन् । जसको अहिले सामाजिक सञ्चालमा विरोध मात्र भएको छैन, भण्डारीले विभिन्न आरोपसमेत सामना गर्नुपरेको छ ।
ट्वीटर प्रयोगकर्ता डा. रामेश कोइराला उर्फ रामेशले भण्डारीलाई मेन्सन गर्दै लेखेका छन्, ‘आदरणीय पूर्वराष्ट्रपति जी, म नेपालको राष्ट्रपतिको अफिसियल अकाउन्टभन्दा ६ गुणा धेर फलोअर भएको यो मेरो अकाउन्ट यहाँलाई दान दिन चाहन्छु । एउटै सर्त चैँ तपाईँले पेवा बनाएको अकाउन्ट राष्ट्रपतिलाई हस्तान्तरण गर्नुपर्ने हुन्छ । मञ्जुर भए डीएम वा फोन गर्नु होला ।’
डा. रामेश मात्र नभइ धेरै ट्वीटर प्रयोगकर्ताहरु, भण्डारीमाथि बर्सिएका छन् । कसले के भने ? एकपटक केही ट्वीट हेरौँ,
यसरी राष्ट्रपति कार्यालयको भेरिफाइड ट्वीटर ह्याण्डल @presidentofNP लाई @BidyaDBhandari भएपछि अहिले ट्वीटरको ‘तातो विषय’ बनेको हो । र, सामाजिक सञ्चालमा विरोध भइरहेको छ ।
ह्याण्डलको युजरनेम परिर्वतन हुँदा ब्लु टिक (भेरिफाइड) भने हटिसकेको छ । @presidentofNP युजरनेम अरुले मात्र प्रयोग गरिरहेका छैनन्, बिहिबार ‘यस्तो नि हुन्छ ?’ भन्ने ह्याण्डलको नाम थियो । त्यसको बायोमा ‘जे मन लाग्यो त्यहीँ लेख्छु’ भनिएको थियो । शुक्रबारसम्म पुग्दा उक्त ह्याण्डलले भने युजरनेम जस्ताको त्यस्तै राखेको छ ।
२५ हजार फलोअर्स भएको राष्ट्रपति कार्यालयको ट्वीटर ह्याण्डललाई निजी बनाएपछि भण्डारीको पहिलो पोष्ट भने ‘आइसीसी क्रिकेट विश्वकप लिग–२ मा विजयी नेपाली क्रिकेट टीम’लाई दिएको बधाई छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयका अनुसार राष्ट्रपति कार्यालयको आधिकारिक ट्वीटर अकाउन्ट हस्तान्तरण भएको छैन । पौडेल फागुन २५ मा राष्ट्रपतिमा निर्वाचित भएका थिए भने फागुन २९ मा उनले शपथ ग्रहण गरेका थिए । सोही दिन पूर्व राष्ट्रपति भण्डारीले शीतलनिवास बाहिरिएकी थिइन् । राष्ट्रपति पौडेलले भने व्यक्तिगत ट्वीटर ह्याण्डल चलाउँदै आएका छन् ।
आधिकारिक ट्वीटर ह्याण्डल विद्यादेवी भण्डारीले निजी बनाएपछि राष्ट्रपति कार्यालय ह्याण्डलविहीन भएको छ । राष्ट्रपति कार्यालयका आधिकारिक सूचना ट्वीटरमार्फत प्राप्त भएका छैनन् ।