News Griha :: न्यूजगृह
सर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष र उपाध्यक्षसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं— हुम्लाको सर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष कृष्ण रोकाया र तत्कालीन उपाध्यक्ष जोसी धामीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। 

आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।  

मुद्दा दायर हुने अन्यमा गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्र बहादुर शाही, इन्जिनियर रामराज शाही, सव–ओभरसियर पदम बहादुर धामी, लेखापाल पूर्ण प्रसाद आचार्य, योजना निर्माण उपभोक्ता समितिको अध्यक्ष हंश रोकाया, सचिव तुलराज रोकाया र कोषाध्यक्ष सेतु रोकाया रहेका छन्। 

कोइलिङ कृषि तथा पशुपालन फर्मका प्रोप्राइटर समेत रहेका तत्कालीन अध्यक्ष रोकायाले आर्थिक वर्ष २०७६–७७ तथा २०७७–७८ मा गरी फर्मको घेराबारा निर्माणका लागि १९ लाख ५० हजार विनियोजन गरेका थिए। 

आफैँ मालिक रहेको फर्ममा राजनीतिक लाभ उठाउँदै उनले पर्खालबाट घेराबार गर्न सार्वजनिक कामका लागि योजना संचालन गर्न उपभोक्ता समिति गठन गरेझै गरी सहोदर दाजु हंश रोकाया अध्यक्ष, श्रीमती सेतु रोकाया कोषाध्यक्ष र सचिवमा तुलराज रोकाया रहेको उपभोक्ता समिति गठन गराई योजना संचालन गरे–गराएको देखाई उक्त योजनाको अनुगमन समितिबाट कार्यसम्पन्न भएको अनुगमन प्रतिवेदनसमेत पेस गरेका थिए।

उनीहरुले वास्तविक भए गरेको भन्दा बढी कार्य भएको भनी नापी किताब र कार्यसम्पन्न प्रतिवेदन तयार गर्ने, रुजु गर्ने र स्वीकृत गर्ने कार्यसमेत गराई ढुङ्गाको पर्खाल निर्माण वापत आव २०७६–०७७ मा ९ लाख ५० हजार तथा आव २०७७–०७८ मा १० लाख हानी नोक्सानी पुर्याएको दाबीसहित अख्तियारले उनीहरुविरुद्ध मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। 
 
तत्कालीन अध्यक्ष रोकायाविरुद्ध १९ लाख ५० बिगो दाबीसहित कैद सजायको समेत माग गरिएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १७:१२
Weather Update