News Griha :: न्यूजगृह
बाढीपहिरो कहरः देशभरका ४४ सडकखण्ड अवरुद्ध [विवरणसहित] 

काठमाडौं— केही दिनदेखि देशभर परेको अविरल वर्षाका कारण देशभरका ४४ राजमार्ग तथा सडकखण्डमा अवरोध सिर्जना भएको छ।

नेपाल प्रहरीले बाढीपहिरोसम्बन्धी बुलेटिन सार्वजनिक गर्र्दै सो कुरा जानकारी गराएको हो। 

जसअनुसार ललितपुरमा पर्ने कान्ति लोकपथ पूर्ण रुपमा क्षति भएको छ। त्यस्तै बाढीका कारण संखुवासभाका दक्षिण कोशी र कोशी राजमार्ग पूर्ण रुपमा क्षति भएको र वर्षाअवधिभर नखुल्ने प्रहरीले जनाएको छ। त्यसैगरी पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ मा पहिरोका कारण अवरुद्ध भएको सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ। भने पहिरोका कारण अवरुद्ध रहेको विपी राजमार्ग एकतर्फी रुपमा सुचारु भएको छ। 

त्यस्तै सधैँ पहिरोको जोखिममा पर्ने हिमाली जिल्ला मनाङ र मुस्ताङका सडक पनि बाढी पहिरोका कारण प्रभावित भएको छ। मनाङको चामे–बेसिशहर सडकखण्ड मंगलबारदेखि अवरुद्ध बनेको छ। उक्त सडक सञ्चालनमा आउन अझै ५–६ दिन लाग्ने प्रहरीले जनाएको छ।  

त्यस्तै बाढी र पहिरोका कारण पाल्पाका विभिन्न राजमार्गहरु अवरुद्ध भएका छन्। पाल्पामा पर्ने शिद्धार्थ राजमार्ग, तम्घास–बुटवल सडक, कालिगण्डकी करिडोर लगायत मुख्य सडक सञ्जाल अवरुद्ध भएको छ। हालसम्म एकतर्फी रुपमा मात्रै सडक सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १५:२२
Weather Update