News Griha :: न्यूजगृह
प्रधानमन्त्रीलाई राजीनामा दिन संसद्मा एमाले-कांग्रेस सांसदको ताकेता

काठमाडौं— प्रतिनिधि सभामा नेकपा एमाले र नेपाली कांग्रेसका सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिन आग्रह गरेका छन्।

आज बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै एमाले र कांग्रेस सांसदहरुले वर्तमान सरकार अल्पमतमा परेको भन्दै राजीनामा दिएर नयाँ सरकार बन्ने बाटो खोलिदिन आग्रह गरेका हुन्। 

गत असार १७ गते सोमबार नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार गठनको सहमति भई एमालेले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको सन्दर्भमा दाहाल नेतृत्वको सरकारले दीर्घकालीन प्रभाव पार्ने कुनै पनि निर्णय गर्न नहुनेमा दुवै दलले जोड दिएका छन्।

आजको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले वर्तमान सरकारले  नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए।

त्यस्तै एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बहुमत गुमाएको अहिलेको सरकार पदमा रहनु अशोभनीय भएको टिप्पणी गर्दै राजीनामा दिएर नयाँ  सरकार गठनका निम्ति मार्गप्रशस्त गर्न आग्रह गरे।

एमालेकै सांसद रघुजी पन्तले बहुमत गुमाएका प्रधानमन्त्री दाहालको राजीनामा दिनुपर्नेमा जोड दिए। 

यसैगरी सांसदहरु बलमपाकी मगर, मैना कार्की र मेनकाकुमारी पोखरेलले अल्पमतमा परेको सरकारले तत्काल राजीनामा दिनुपर्ने बताए। उनीहरुले अब बन्ने सरकारलाई काम गर्न वातावरण सिर्जना गर्नुपर्ने बताए।  

यता सत्ताको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले भने विश्वासको मतको प्रस्ताव प्रस्तुत भएर असफल भएपछि प्रधानमन्त्री एक मिनेट पनि पदमा नबस्ने र संविधानअनुसार सरकार अघि बढ्ने स्पष्ट गरे।

यसैगरी संसद्को शून्य समयमा बोलेका अधिकांश सांसदहरुले देशभर केही दिनदेखिको बाढी पहिरो प्रभावितहरुको उद्धार तथा राहतमा जोड दिन सरकारको ध्यानाकर्षण गराएका छन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १४:०८
समसामयिक
Weather Update