News Griha :: न्यूजगृह
रास्वपालाई योगेशको प्रश्नः प्रधानमन्त्रीले प्वाल पारेको डुंगामा बसेर कता जाँदै हुनुहुन्छ? 

काठमाडौं— नेकपा एमालेका सांसद योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अझै सत्तामा बसिरहेकोप्रति टिप्पणी गरेका छन्। 

आइतबार (आज) बसेको प्रतिनिधि सभाको विशेष समय मागेर बोलेका सांसद भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्थिर चरित्र रहेको टिप्पणी गर्दै सोच्न आग्रह गरे। 

उनले प्रधानमन्त्री प्रचण्डले प्वाल पारिसकेको डुंगामा बसेर कता जान लागेको? भन्दै प्रश्न गरे

‘प्रधानमन्त्रीज्यूले प्वाल पारिसकेको डुंगामा बसिरहनु भएको छ भने तपाईंहरू कता जाँदै हुनुहुन्छ, सोच्नुहोला,’ उनले अघि भने, ‘म राष्ट्रिय स्वतन्त्र पार्टीलाई भन्न चाहन्छु, उहाँहरू उतै (सत्तापक्ष) बस्नुभएको छ। यो उहाँहरूको इच्छा हो, हामीलाई केही भन्नु छैन।’ 

त्यस्तै प्रधानमन्त्री प्रचण्डको स्वभावको कारण आफूहरुले कांग्रेससँग नयाँ समीकरण बनाएर अघि बढ्न बाध्य भएको बताए। यसअघि कहिले एमाले र कहिले कांग्रेसलाई धोका दिएर सत्ता सहयात्री फेरेको बताउँदै उनले प्रधानमन्त्रीको अस्थिर चरित्रका कारण दुई ठूला दल एक ठाउँमा आउन बाध्य भएको बताए। 

‘उहाँको स्वभाव नै यस्तो हो कि, बुझ्नै सकिएन। संविधान निर्माणपछि देशलाई स्थितिरमा लैजाने बेला एमालेलाई धोका दिएर कांग्रेसतिर लाग्नुभयो। फेरि कांग्रेस छाडेर एमालेतिर आउनुभयो,’ योगेशले भने, ‘२०७९ को निर्वाचनमा एमालेविरुद्ध बनेको गठबन्धन लामै समय जान्छ भनेर हामी प्रतिक्षमा बस्न तयार थियौँ। तर, उहाँ चुनावपछि फेरि कांग्रेस छाडेर एमालेतिर आउनुभयो।’

बैठकमा यसअघि एमाले र कांग्रेसबीच भएका सहकार्यको फेहरिस्त उनले सुनाए। २०४६ को जनआन्दोनल सफल बनाउन एमाले र कांग्रेसबीचको सहकार्यले नै सफल भएको दाबी समेत भट्टराईको रहेको छ। 

संसद्का दुई ठूला पार्टीहरु मिल्नु लोकतान्त्रिक देशका लागि उपयुक्त नभए पनि संविधान संशोधन लगायत मुख्य विषयमा दुई दल मिल्नुको विकल्प नरहेको स्पष्ट पारे। 

नयाँ सत्ता समीकरण बनाउने सहमति पछि यसअघि सत्तापक्षको कुर्सीमा बस्दै आइरहेको एमाले आजबाट प्रतिपक्षको कुर्सीमा बसेको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १३:५१
समसामयिक
Weather Update