
काठमाडौं— बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्।
केन्द्रमा सत्ता समीकरण फेरिएसँगै राजीनामा दिने मनस्थितिमा रहेका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने तयारी गरेका हुन्।
आज बसेको माओवादी केन्द्र संसदीय दलको बैठकमा सांसदहरुले विश्वासको मत लिन सुझाव दिएसँगै मुख्यमन्त्री जम्कट्टेल विश्वासको मत लिन तयार भएका हुन्।
केन्द्रमा नेकपा एमाले र कांग्रेस मिलेर नयाँ सत्ता समीकरण बनाएर अघि बढ्ने सहमतिपछि त्यसको असर प्रदेश सरकारमा परिरहेको छ। त्यसो त आजै बागमतीमा एमालेबाट सरकारमा सामेल मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका छन्।
बागमतीमा एमालेबाट संसदीय दलका नेता एवम् आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, वन तथा वातावरण मन्त्री केशवप्रसाद पोखरेल, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री एकालाल श्रेष्ठ, स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठ रहेका छन्। सबै मन्त्रीहरुले आजै सामूहिक राजीनामा दिने तयारी गरेका छन्।
एमाले मन्त्रीहरुबाट राजीनामा आएपछि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने दिन तोक्ने माओवादीको तयारी रहेको छ।
यता केन्द्रमा सत्ताको प्रमुख दल नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्बाट विश्वासको मत लिने तयारी गरेका छन्। प्रधानमन्त्रीले प्रचण्डले आगामी असार २८ गते शुक्रबार विश्वासको मत लिन लागेका हुन्।