News Griha :: न्यूजगृह
एमाले प्रमुख सचेतक भन्छन्– ७६(२) बमोजिम सरकार बनाउन कुनै बाधा छैन 
फाइल तस्बिर

काठमाडौं— नेकपा एमालेले कांग्रेससँग भएको सहमतिको आधारमा सरकार बन्न कुनै संवैधानिक बाधा नरहेको स्पष्ट पारेको छ।

वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संविधानको धारा ७६ (२) को बमोजिम सरकारको नेतृत्व गरिरहेका छन्। तर प्रचण्ड प्रधानमन्त्रीबाट हट्दा सोही धारा अनुसार सरकार बन्न सक्छ वा सक्दैन भन्ने ठूलो मतान्तर देखिएको छ। 

आज बसेको एमाले संसदीय दलको बैठकपछि बोल्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले यसअघिको नजिरकै आधारमा धारा ७६(२) बमोजिम सरकार बन्न कुनै बाधा नरहेको बताए। 

‘कांग्रेस र एमाले मिलेर राष्ट्रिय सरकार बनाएर अघि बढ्ने भनिसकेपछि त्यही हो मुख्य आधार। गण्डकी कोशीमा पनि यही धाराबाट सरकार बनेको छ। संविधानलाई भ्रमणपूर्ण ढंगबाट व्याख्या गर्न खोजिँदैछ। ७६ (३) बमोजिम भन्दै गर्दा कांग्रेस ठूलो दल छ भन्ने हिसाबले व्याख्या गर्न सकिन्छ,’ बैठकपछि बोल्दै प्रमुख सचेतक बर्र्तौलाले भने।  

त्यसैगरी उनले कांग्रेसले सोही अनुसार समझदारी बनाइसकेको भन्दै त्यसबाट दाँयाबाँया हुने ठाउँ नरहेको उनले बताए। 

‘कांग्रेस स्वयंले एमालेसँग समझदारी बनाइसकेको अवस्थामा सहमतिअनुसार नै कार्यान्वयन हुन्छ,’ उनले भने। 

गत सोमबार राति एमाले र कांग्रेसबीच नयाँ समीकरण अनुसार सरकार बनाउने सहमति भएको छ। प्रधानमन्त्रीले आगामी असार २८ गते विश्वासको मत लिँदैछन्। 

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १२:३१
Weather Update